दाङ – नेपाली काङ्ग्रेस दाङ निर्वाचन क्षेत्र नम्बर १ ले १५औँ महाधिवेशनअन्तर्गत निर्वाचित वडा सभापति, वडा पदाधिकारी तथा क्षेत्रीय प्रतिनिधिहरूको सहभागितामा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।
नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भेषराज पाण्डेका अनुसार असोज ६ गते बिहान ११ बजे लमहीस्थित नेपाली काङ्ग्रेस पार्टी कार्यालय, रातोडाँडामा विशेष कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रममा नेपाली काङ्ग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीले प्रमुख आतिथ्यता गर्नुहुने कार्यक्रम तय भएको छ ।
कार्यक्रममा १५औँ महाधिवेशनअन्तर्गत निर्वाचित क्षेत्र नम्बर १ का सबै वडा सभापति, वडा पदाधिकारी तथा क्षेत्रीय प्रतिनिधिहरूलाई उपस्थितिका लागि आह्वान गरिएको नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ का प्रवक्ता अजय न्यौपानेले जानकारी दिनुभयो ।
विशेष कार्यक्रममा पार्टीको आगामी अधिवेशन, संगठन सुदृढीकरण तथा क्षेत्रीय नेतृत्व चयनलगायतका विषयमा छलफल हुने बताइएको छ । साथै आगामी महाधिवेशनमा क्षेत्र नम्बर १ को नेतृत्व सर्वसम्मत रूपमा चयन गर्ने विषयमा समेत आवश्यक छलफल हुने छ ।
क्षेत्रीय सभापति पाण्डेका अनुसार निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गर्नुभन्दा पार्टीभित्र आवश्यक छलफल, समन्वय र सहमतिका माध्यमबाट सबै पक्षलाई समेटेर क्षेत्रीय समिति निर्माण गर्न सके संगठन थप बलियो बन्ने विश्वास गरिएको छ ।
नेतृत्व चयनमा सहमति र एकताको वातावरण निर्माण गर्न विशेष कार्यक्रम महत्वपूर्ण हुने बताउँदै उहाँले पार्टीका सबै तहका नेता तथा कार्यकर्ताबीच आपसी समन्वय र सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा क्षेत्र नम्बर १ अन्तर्गतका वडा तथा क्षेत्रीय प्रतिनिधिहरूको सहभागिता रहने भएकाले आगामी दिनमा पार्टीको संगठनात्मक गतिविधि, नेतृत्व चयन र महाधिवेशनको तयारीका विषयमा समेत महत्वपूर्ण छलफल हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्