दाङ – वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्ज बाँकेको आयोजना तथा देउखुरी उद्योग वाणिज्य संघ लमहीको समन्वयमा लमहीमा व्यवसायी तथा उद्योगी लक्षित अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।
देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष इश्वर प्रकाश श्रेष्ठका अनुसार असोज १६ गते शुक्रबार बिहान लमहीस्थित होटल आश्रयमा एकदिने अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रममा उद्योगी तथा व्यवसायीहरूले दैनिक व्यवसाय सञ्चालनका क्रममा भोग्दै आएका समस्या, चुनौती तथा उपभोक्ता संरक्षणसँग सम्बन्धित विषयमा छलफल तथा अन्तरक्रिया गरिनेछ ।
अध्यक्ष श्रेष्ठले व्यवसायीहरूलाई सरकारी निकायबाट प्रदान हुने सेवा, व्यवसाय सञ्चालनका क्रममा पालना गर्नुपर्ने कानूनी तथा प्रशासनिक प्रक्रियाका विषयमा जानकारी गराउनुका साथै व्यवसायीका जिज्ञासा र समस्यालाई सम्बन्धित निकायसमक्ष प्रत्यक्ष रूपमा राख्ने अवसरका रूपमा कार्यक्रमलाई लिन आग्रह गर्नुभएको छ ।
उहाँले उद्योग तथा व्यवसाय क्षेत्रलाई व्यवस्थित, मर्यादित र उपभोक्तामैत्री बनाउन व्यवसायी र नियमनकारी निकायबीच नियमित संवाद र सहकार्य आवश्यक रहेको बताउनुभयो । यस्ता अन्तरक्रियाले व्यवसायीलाई आफ्नो जिम्मेवारी र अधिकारबारे थप स्पष्ट हुन तथा व्यवसाय सञ्चालनका क्रममा देखिएका व्यावहारिक समस्याको समाधान खोज्न सहयोग पुग्ने अध्यक्ष श्रेष्ठको भनाइ छ ।
कार्यक्रममा उद्योगी तथा व्यवसायीका साथै सम्बन्धित क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ । व्यवसायीहरूले आफ्ना समस्या, जिज्ञासा तथा सुझाव प्रत्यक्ष रूपमा राख्न सक्ने भएकाले कार्यक्रममा सक्रिय सहभागिता जनाउन अध्यक्ष श्रेष्ठले आग्रह गर्नुभएको छ ।
देउखुरी उद्योग वाणिज्य संघका महासचिव सुदीप पाण्डेयले संघका पदाधिकारी तथा सदस्यहरूलाई निर्धारित समय र स्थानमा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्