दाङ – स्वर्गद्वारी आश्रममा आश्रित गौमाताहरूको आहार व्यवस्थापनमा सहयोग पुर्याउन देउखुरी क्षेत्रबाट हरेक वर्ष पराल संकलन गरी पठाउने अभियानले निरन्तरता पाउँदै आएको छ ।
चरिचरण क्षेत्र अतिक्रमणमा पर्दै जानु र आश्रमको जग्गासमेत अतिक्रमण भएपछि गाइहरुको चरन तथा आहार व्यवस्थापनमा कठिनाइ बढ्दै गएको अवस्थामा देउखुरीका युवाहरूले सहयोग अभियान सुरु गरेका हुन् ।
मानवीयता, सेवाभाव र धार्मिक आस्थालाई प्रेरणाका रूपमा लिएर देउखुरी क्षेत्रका युवाहरूले झन्डै एक दशकअघि कमल जंग सिंह ठकुरीको पहलमा पराल संकलन अभियान थालेका थिए । अभियानमा स्थानीय युवा, समाजसेवी तथा व्यवसायीहरूको सहयोग जुट्दै आएको छ ।
हरेक वर्ष देउखुरी क्षेत्रबाट करिब २५ देखि ३० ट्रेक्टर पराल संकलन गरी स्वर्गद्वारी आश्रममा पुर्याउने गरिएको छ । स्थानीयस्तरमा कृषकबाट पराल संकलन गरी आश्रमसम्म पुर्याउने अभियानले गौमाताहरूको आहार व्यवस्थापनमा सहयोग पुर्याउँदै आएको छ ।
स्वर्गद्वारी मन्दिरमा करिब पाँच सय र स्वर्गद्वारी आश्रम बनगाउँमा करिब चार सय ५० गाई आश्रित छन् । ठूलो संख्यामा गौमाताहरूको पालनपोषण र संरक्षणका लागि आवश्यक आहार जुटाउनु आश्रमका लागि चुनौतीपूर्ण बन्दै गएको छ। यस्तो अवस्थामा देउखुरी क्षेत्रबाट सञ्चालन हुँदै आएको पराल संकलन अभियान आश्रमका गाईहरुकाे आहार व्यवस्थापनमा सहयोगी बनेको छ ।
वर्षौंदेखि निरन्तर सञ्चालन हुँदै आएको अभियान धार्मिक आस्थालाई सामाजिक सेवासँग जोड्ने प्रयासका रूपमा स्थापित हुँदै गएको छ ।
युवाहरू, समाजसेवी र व्यवसायीहरूको सामूहिक सहभागिताले गौसंरक्षणप्रतिको जिम्मेवारीबोधसँगै सहयोग र सहकार्यको भावना पनि प्रवर्द्धन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्