काठमाडौं – काभ्रे तेमालकी २१ वर्षकी रमा रायमाझी डेढ वर्षदेखि काठमाडौं वुद्धनगरस्थित केएमसी स्कुलको क्यान्टिनमा काम गर्थिन् । काम गरेर सोही स्कुलमा बहिनीको पढाइ खर्च व्यहोरेर घरमा बाबुआमालाई पैसा पनि पठाउँथिन् ।
उनले काम गर्न थालेदेखि बाबु ईश्वर र आमा गोमालाई धेरै भरथेग भएको थियो । तर अब ईश्वर र गोमाकी प्यारी रमा रहिनन् । उनी आफूले काम गर्दै आएको केएमसी स्कूलकै होस्टलमा झुण्डिएको अवस्थामा भेटिइन् ।
छोरी रमाको मृत्युको खबर सुनेपछि शनिबार राति नै तेमालबाट रायमाझी दम्पती काठमाडौं आइपुगेका छन् । स्कुल बाहिर छोरीको शव कुर्दै यी दम्पतीले गरेको बिलौनाले त्यहाँ पुग्ने जो कोहीको पनि आँखा रसाएको छ ।
‘मेरो त घरको दियो निभेको छ । पिलर ढलेको छ । सहारा गुमेको छ आशाका किरण बिलाएका छन्’, मृत्युको १८ घन्टासम्म पनि छोरीको शव हेर्न नपाएका ईश्वर प्रहरीलाई अनुनय विनय गर्छन्, ‘म पनि तपाईंहरु जस्तै कसैको बुवा हुँ, ज्यूँदो त देख्न पाइनँ पाइनँ, मरेको लास हेर्न आएको छु मलाई मेरी छोरी हेर्न दिनुस् ।
’ रमाको शव झुण्डिएको अवस्थामा फेला परेको भए पनि प्रहरीले मृत्युको कारण पत्ता लगाएको छैन । आफन्तले निष्पक्ष अनुसन्धान र न्यायको ग्यारेन्टी नगरी शव नउठाउने अडान लिएका छन् ।
त्यसैले प्रहरीले घटनास्थलमा कसैलाई छिर्न दिएको थिएन । ‘मेरो मुटुको टुक्राको हत्या भएको छ । सधैं भरलाई घरको दियो निभेको छ । बल्लबल्ल छाउन थालेको खुसी लुटिएको छ ।
अन्तिम पटक लास त हेर्न दिनुस्’, बोल्दा घाँटी सुकिरहेको छ ईश्वरको । उनी बेलाबेला पानी खोज्छन् र फेरि बर्बराउन थाल्छन्, ‘छोरीलाई न्याय चाहियो । मेरी छोरीले के गल्ती गरी ?’ सहर चिनेकी–जानेकी र घरको अवस्था बुझेर काम गर्न थालेकी छोरीको मृत्यु भएपछि रायमाझी दम्पतीको सपना टुटेको छ ।

प्रतिक्रिया दिनुहोस्