जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय समितिको पहिलो बैठक मंगलबार बस्ने

दाङ समाचार
दाङ समाचार २४ असार २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको विशेष संसदीय छानबिन समितिको पहिलो बैठक आउने मंगलबार बस्ने भएको छ। संसद सचिवालयका अनुसार शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाको पहलमा बसेको सहजीकरण बैठकले यस्तो निर्णय गरेको हो।

समितिले काम थालेको १० दिनभित्र प्रतिवेदन बुझाउनुपर्नेछ। सभामुख सापकोटा,संसद सचिवालयका कर्मचारी र समितिमा रहेका सदस्यहरूबीच बैठक भएको थियो। शर्माले बजेट निर्माणका बेला अनधिकृत मानिसलाई बोलाएर करका दर हेरफेर गरेको आरोप लागेपछि संसदीय छानबिन समिति गठन गरिएको हो।

उक्त बैठकमा समितिलाई संसद सचिवालयले गर्ने सहयोगबारे जानकारी गराइएको थियो। आजको बैठकले समितिको सचिव लक्ष्मण अर्याललाई बनाउने निर्णय गरेको छ। अर्याल संसद सचिवालयका सहसचिव हुन्। शर्मामाथि छानबिन गर्न बुधबार संसदले ११ सदस्यीय समिति बनाएको थियो।

एमालेबाट खगराज अधिकारी, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल र विमला विक सदस्य छन्। यो समितिमा नेपाली कांग्रेसबाट पुष्पा भुसाल गौतम र सीताराम महतो, नेकपा माओवादी केन्द्रबाट देवप्रसाद गुरूङ र शक्तिबहादुर बस्नेत छन्।

यस्तै नेकपा एकीकृत समाजवादीकी सरलाकुमारी यादव, जसपाका सुरेन्द्र यादव र लोसपाबाट लक्ष्मणलाल कर्ण छानबिन समितिमा छन्। छानबिन समिति बनेकै दिन संसदमा सम्बोधन गर्दै शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्