दाङ – लमही बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । वडा प्रहरी कार्यालय लमही र अस्थायी ट्राफिक प्रहरी कार्यालय लमहीको समन्वयमा स्थापना गरिएको हो।
हिन्दुहरुको महान चाड बडादशैं, तिहार र छठ पर्व नजिकिंदै गरेकोले यात्रुहरुको सुरक्षालाई मध्यनजर गरि सहायता कक्षको स्थापना गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी नायव निरीक्षक विष्णु केसीले जानकारी दिए । दशैं, तिहार र छठ पर्व सम्म प्रहरी र ट्राफिक प्रहरी तैनाथ गरेर आम सर्बसाधारणलाई सेवा दिने प्रहरी नायव निरीक्षक केसीले बताए ।
चाडवाडका बेला हुन् सक्ने जोखिमलाई न्यूनीकरण गर्ने, अप्ठ्यारोमा परेका यात्रुहरूलाई सहजीकरण गर्ने, सिट भन्दा बढी यात्रु राख्न नदिने, अपांग अशक्त, असहायहरुलाई सहयोग गर्ने, यात्रुहरुको गुनासो छिटो छरितो सुन्ने र तत्काल सम्बन्धित निकाय सम्म पुर्याउने जस्ता काम सहायता कक्षले गर्ने वडा प्रहरी कार्यालय लमहीका वरिष्ठ प्रहरी नायव निरीक्षक पुराण मल्लले जानकारी दिए ।
कुनै पनि यात्रु समस्यामा परेको खण्डमा लमही बसपार्कमा स्थापना गरिएको यात्रु सहायता कक्षमा ट्राफिक प्रहरी पनि हुनेछ, त्यहाँ प्रहरीको फोन नम्बर राखिएको छ तपाईहरु समस्यामा पर्नु भएको खण्डमा ति नम्बरमा फोन गरेर जानकारी दिनुहोला, यात्रुलाई समस्या पार्नेहरुलाई प्रहरीले कानूनी कारवाही गर्छ तपाईहरु ढुक्क हुनुस’- अस्थायी ट्राफिक पोष्ट लमहीका प्रमुख विक्रम विकले भने ।
चाडवाडका बेलामा यात्रुहरु अल्लि बढी मर्कामा पर्ने गर्दछन । गाडीवालाले तानातान गर्ने, चढाउदा एकथरी कुरा गरेर चढाउने पछी भाडा बढि माग्ने, यात्रुले प्रतिबाद गर्दा गाडीबाट ओराली दिन्छु भन्ने, सिटमा कोचाकोच गरेर बसाल्ने जस्ता गतिविधि रोकिने प्रहरीले बताएको छ । बसपार्कमा यात्रु सहायता कक्ष स्थापना भएपछी सर्बसाधारण खुसि भएका छन।

प्रतिक्रिया दिनुहोस्