काठमाडौँ– मनास्लु हिमालको तेस्रो र चौथो क्याम्पको बीचमा गएको हिमपहिरोका कारण मानवीय क्षतिको जानकारी हालसम्म नरहेको पर्यटन विभागले जनाएका छ।
विभागको पर्वतारोहण महाशाखाका निर्देशक युवराज खतिवडाका अनुसार सोमबार पहिरो जाँदा केही घाइते भएको तर अवस्था गम्भीर भने छैन।
‘९-१० जना घाइते भएको कुरा थाहा पाएका छौँ’, खतिवडाले भने, ‘तर अहिलेसम्मको जानकारी अनुसार मानवीय हताहतीको कुरा आएको छैन। घाइतेहरूको अवस्था पनि सामान्य रहेको विभिन्न स्रोतबाट जानकारी प्राप्त गरेका छौँ।’
तर, उद्धारका लागि टोली तयारी अवस्थामा राखिएको र घाइतेलाई थप उपचारको आवश्यकता परेमा काठमाडौँ ल्याउनका लागि हेलिकप्टर तयारी अवस्थामा रहेको उनले बताए।
‘मनास्लुको बेस क्याम्पमा हेलिकप्टर तयारी अवस्थामा छ । माथिबाट चाहियो भनेर जानकारी आउने वित्तिकै उद्धारका लागि हेलिकप्टर प्रयोग हुनेछ’, खतिवडाले भने।
यसअघि कीर्तिमानी आरोही निर्मल पुर्जाले सामाजिक सञ्जालमार्फत् हिमपहिरोबारे जानकारी दिँदै आफ्नो आरोहण दलमा रहेका सबै सदस्य सकुशल रहेको उल्लेख गरेका थिए। यस्तै, सेभेन समिटका मिग्मा शेर्पाले पनि हिमपहिरो गएको पुष्टि गरेका छन्। देश सञ्चार

प्रतिक्रिया दिनुहोस्