दाङ – दाङ लगायत देशैभर लगातार वर्षा भइरहेको छ । असोजको महिना किसानले धान काट्ने समय हो, कति किसानले काटेर खेतमै राखेका छन भने कसैले काट्ने सुरसारमा छन । तर यो पटक असार श्रावणमा पानी पर्न सकेन । असोजको मध्यभागमा भारी वर्षा भैरहेको छ, वर्षा रोकिएको छैन ।
लगातारको वर्षाका कारण लमहीका विभिन्न स्थानमा तीन घर भत्किएका छन् । वातावरण सरसफाई तथा विपद् व्यवस्थापन शाखा प्रमुख गायत्री थापाले अविरल वर्षाका कारण लमहीमा तीनवटा खरले छाएका कच्ची घर भत्किएको जानकारी दिईन ।
वर्षातका कारण पालिका जोड्ने सडकहरूमा हिलोको समस्या उस्तै छ भने कतिपय स्थानहरू भत्किएका छन् ।
वर्षाका कारण लमही नगरपालिका वडा नम्बर ७ हस्नापुर निवासी लिला श्रेष्ठ, सोही वडा उचानिम्बु निवासी कमल कुमारी चौधरी र लमही नगरपालिका वडा नम्बर ४ अर्नवा निवासी निशा कुमालको घर पूर्णरुपमा भत्किएको शाखा प्रमुख गायत्री थापाले बताइन ।
थापाका अनुसार घर भत्किएर पूर्णरुपमा क्षति भएको छ । घर भत्किएपछि स्थानीयहरू आफन्तकोमा आश्रय लिएर बसेका छन् ।
नगरप्रमुख चौधरीद्वारा स्थलगत निरिक्षण
लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले वर्षाले क्षती पुर्याएको विभिन्न स्थानको निरीक्षण गरेका छन । चौधरीको साथमा उपप्रमुख लक्ष्मी योगी र वातावरण सरसफाई तथा विपद् व्यवस्थापन शाखा प्रमुख गायत्री थापाले वर्षाका कारण क्षति भएका घरहरु स्थलगत निरिक्षण एवम् अनुगमन गरेका हुन ।
लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले राहत वितरणमा ढिलाइ नहुने बताए । वर्षातका कारण भत्किएका जनताका घरहरु पुनःनिर्माण हुनुपर्छ ।
त्यसको लागि लमही नगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको छ । हामीबाट कुनै ढिलाइ हुदैँन ढुक्क हुनुहोस्, उनले भने,–। ‘क्षति भएको घरको प्रहरी मुचुल्का र वडाको सिफारिस लिएर आउनुस् । हामी कामको प्रक्रिया तत्कालै अगाडि बढाउँछौं । त्यसपछि राहत दिन्छौँ ।’
यता लमही नगरपालिका नगर उपप्रमुख लक्ष्मी योगीले स्थानीय विपद् व्यवस्थापन समितिको बैठले मुचुल्काको आधारमा क्षति भएअनुसार नगरपालिकाबाट क्षतिपूर्ति दिने बताइन।

प्रतिक्रिया दिनुहोस्