वारेशमार्फत पनि उम्मेदवारी दर्ता गर्न सकिने – निर्वाचन आयोग

दाङ समाचार
दाङ समाचार २२ आश्विन २०७९, शनिबार
2 Min Read
Aa

काठमाडौं – मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि भोलि हुने प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताका लागि अप्ठेरो परेमा निर्वाचन आयोगले सहयोग गर्ने जनाएको छ । शनिवार काठमाडौँमा गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले योग्यता पुगेका सबै उम्मेदवारहरूलाई आफ्नो उम्मेदवारी मनोनयनका लागि आयोगले आवश्यक सहजीकरण गर्ने बताएका छन् ।

उम्मेदवारी दर्ताका लागि निर्वाचन कार्यतालिका पछि नसार्ने तर उम्मेदवारी दिन सम्बन्धित स्थानमा पुग्न नसक्ने उम्मेदवारका लागि वारेश मार्फत उम्मेदवारी दर्ता गर्न सकिने बताएका छन् । उनले उम्मेदवारीको मनोनयनका लागि उम्मेदवारहरूको भौतिक उपस्थिति अनिवार्य नरहेको बताउँदै दलको आधिकारिक पत्र, वारेशनामा र मतदाता परिचय पत्रको निस्सा भए मनोनयन गर्न सकिने व्यवस्था निर्वाचन अधिकृतको कार्यालयमा गरिएको जानकारी गराए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले भने–‘उम्मेदवारी मनोनयनका लागि आफै जान सक्ने अवस्था रहेन भने पनि आफ्नो वारेस वा प्रतिनिधिमार्फत गर्न सकिने व्यवस्था गरेको हुनाले उम्मेदवारको भौतिक उपस्थितिको अनिवार्यता कानुनले भनेन । त्यसकारण हामीले यो कार्यक्रम सुचारु गर्न उपयुक्त ठान्यौं । केही अप्ठ्यारो परेको स्थिति छ भने आयोगले राजनीतिक दलहरूलाई आफ्नो स्रोत, साधन र जनशक्ति प्रयोग गरेर उम्मेदवारको मनोनयन गर्न सकिने व्यवस्था गरेको छ ।’

उनले अगाडि भने–‘यसमा कुनै पनि किसिमको अवरोध भयो भने त्यसलाई आयोगले सहजीकरण गर्नका लागि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई भनेको छ । त्यसका लागि दलको आधिकारिक पत्र, वारेश नामा र मतदाता परिचय पत्रको निस्सा भने हुनुपर्नेछ । योग्यता पुगेका हरेक नागरिकलाई उम्मेदवार बन्ने अधिकारबाट आयोगले वञ्चित गराउनेछैन ।’

यसैबिच प्रमुख निर्वाचन आयुक्त थपलियाले सरकारी स्रोत, साधनको प्रयोग गरेर निर्वाचनको प्रचारका लागि आफ्नो निर्वाचन क्षेत्रबाहेक अन्य ठाउँमा नजान पनि मन्त्रीहरूलाई रोक लगाइएको जानकारी दिए । अन्य निर्वाचन क्षेत्रमा कुनै काम विशेष जान पर्‍यो भने आयोगको अनुमति अनिवार्य रूपमा लिनुपर्ने व्यवस्था निर्वाचन आचारसंहितामा उल्लेख गरिएको उनको भनाई छ । उनले निर्वाचनलाई निष्पक्ष ढङ्गले सम्पन्न हुने गरी निर्वाचन सुरक्षा व्यवस्था पनि मिलाइएको जानकारी गराए । रातोपाटी

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्