सकियो प्रत्यक्षतर्फको मतपत्र छपाइ कार्य

दाङ समाचार
दाङ समाचार १८ कार्तिक २०७९, शुक्रबार
3 Min Read
Aa

काठमाडौँ – आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ कार्य सम्पन्न भएको छ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा नर्वाचनका लागि प्रत्यक्षतर्फको आवश्यक सबै मतपत्र छपाइ कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। आयोगले जनक शिक्षा सामग्रीलाई प्रत्यक्ष निर्वाचन तर्फका मतपत्र छपाउन दिएको थियो। आयोगले दिएको २० गतेसम्मको समय–सीमाभन्दा दुई दिनअगावै जनक शिक्षा सामग्री केन्द्रले मतपत्र छपाइ कार्य सम्पन्न गरेको हो।

शुक्रवार जनक शिक्षा सामग्रीमा मतपत्र छपाइसम्बन्धी अवलोकन गर्दै निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगको २० गतेसम्म मतपत्र छापिसक्नुपर्ने समयावधिभन्दा दुई दिनअगावै सबै मतपत्र छापिएको बताए। उनले ८ करोड ३ लाख ९४ हजार ५ सय मतपत्र छपाइ सकिएको र नमुना मतपत्र २२ लाख गरी कुल ८ करोड २५ लाख मतपत्र छपाइ भएको बताए।

निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त भण्डारीले कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, गण्डकी प्रदेशमा ढुवानी सम्पन्न भइसकेको र प्रदेश १, मधेस प्रदेश र वागमती प्रदेशमा चाँडै मतपत्र ढुवानी हुने बताए।

उनले मतपत्र छाप्ने काम चुनौतीपूर्ण रहे पनि समयभन्दा अगावै सबैको सहयोगमा छपाइ कार्य सम्पन्न भएको बताए।

उनले भने, ‘सबै पक्षबाट मतपत्र छपाइ चुनौतीको रुपमा लिने हो तर आयोगले र आयोगसँग सम्बद्ध मतपत्र छपाइको क्रममा सँगै बसेर काम गर्नुहुने सबै साथीले यसलाई अवसरको रूपमा लिनुभएको छ। निर्वाचन आयोगको २० गतेसम्म मतपत्र छापिसक्नुपर्ने भन्ने थियो तर सेड्युलभन्दा दुई दिनअगावै मतपत्र छपाइ सकियो। नमुना मतपत्र २२ लाख, सक्कली मतपत्र ८ करोड ३ लाख ९४ हजार ५ सय गर्दा करिब ८ करोड २५ लाख मतपत्र छपाइ भएको छ।

कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, गण्डकी प्रदेशमा ढुवानी सम्पन्न भइसकेको छ, प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा बाँकी छ, यो छिट्टै हुन्छ। चुनौतीपूर्ण काम छाप्ने थियो, ढुवानी छिट्टै हुन्छ। छोटो समयमा यति धेरै मतपत्र छापिनु, गम्भीर कुरा नै थियो। तर यसलाई सहज रूपमा छापिएको छ। निर्वाचन प्रक्रियामा सामेल हुने प्रयोजनको लागि मतपत्र छापिने क्रममा सहयोग र सद्भावले काम गरेर दुई दिनअगावै सक्नुभयो।’

समानुपातिक निर्वाचन प्रणालीतर्फको करिब ४ करोड मतपत्र भने यसअघि नै छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ।

आयोगको पछिल्लो तथ्यांकअनुसार निर्वाचनमा कुल १ करोड ७९ लाख ८५ हजार ७० जना मतदाता छन्। यी मतदाताले समानुपातिक तथा प्रत्यक्ष दुई प्रणालीका लागि चार वटा मतपत्रमा भोट हाल्नुपर्ने हुन्छ। जसअनुसार आगामी निर्वाचनका लागि करिब ८ करोड मतपत्र आवश्यक पर्छ। देश सञ्चार

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्