काठमाण्डौ – अमेरिकी रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति चुनाव सन् २०२४ को लागि पार्टीको उम्मेदवार बन्ने घोषणा गरेका छन् ।
अमेरिकी राष्ट्रपतीय निर्वाचनका लागि डेमोक्र्याट र रिपब्लिकनले पहिले आफूमध्येबाट उम्मेदवार छान्छन् । ट्रम्पको घोषणाको अर्थ उनी अब रिपब्लिकन पार्टीको उम्मेदवार बन्न पार्टीभित्रैको चुनावमा भिड्नेछन्।
फ्लोरिडाको मार-ए-लागो रिसोर्टमा आफ्नो र्याली हुनुअघि उनले पार्टीमा आफ्नो उम्मेदवारीको कागजात बुझाएका छन्।
र्यालीमा उपस्थित भीडलाई सम्बोधन गर्दै ट्रम्पले भने, ‘अमेरिकालाई फेरि महान र गौरवान्वित बनाउन आज राती म संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको लागि उम्मेदवारी घोषणा गर्दैछु।’ उनले मानिसबाट यस्तो माया पाए ठूलो संख्यामा मानिसहरूसँग कुरा गर्न सहज हुने बताए।
उनले भने, ‘ अबदेखि २०२४ को निर्वाचनको दिनसम्म… म यसअघि कसैले नभिडेको जसरी भिड्नेछु। हाम्रो देशलाई भित्रैबाट ध्वस्त पार्न खोज्ने कट्टरपन्थी वामपन्थी लोकतन्त्रलाई हामी पराजित गर्नेछौं।’ ट्रम्पले यो अभियान मात्र नभइ अमेरिका बचाउने प्रयास भएको बताए। बीबीसी

प्रतिक्रिया दिनुहोस्