निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन राष्ट्रपतिको अपिल

दाङ समाचार
दाङ समाचार ३ मंसिर २०७९, शनिबार
1 Min Read
Aa

काठमाण्डौ – भोलि मङ्सिर ४ गते आइतबार देशमा प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा सबैलाई सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारीले आग्रह गरेकी छन् ।

जननिर्वाचित संविधानसभाद्वारा निर्मित नेपालको संविधानले सुनिश्चित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न यस आम निर्वाचनको ऐतिहासिक महत्व रहेको उनले आज एक सन्देश जारी गर्दै बताएकी छन् ।

सन्देशमा भनिएको छ, ‘निष्पक्ष‚ भयरहित र स्वतन्त्र वातावरणमा नागरिकले मताधिकार प्रयोग गर्दै सम्पन्न हुने आमनिर्वाचनबाट लोकतान्त्रिक प्रणाली र संस्थाहरू क्रमश: जनउत्तरदायी हुँदै जान्छन् । यसबाट शासन प्रणालीमा जनताले खोजेको सुशासन र पारदर्शिता स्थापित गर्न मद्दत पुग्दछ । स्वस्थ र सबल लोकतन्त्रबाट नै शान्ति‚ स्थायित्व र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न सकिन्छ । ‘

जनताले निर्वाचित गरेका प्रतिनिधिबाट मुलुकको शासन सञ्चालन हुनु लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष हो । आवधिक निर्वाचनले जनतामा निहित सार्वभौमसत्तालाई औपचारिक रूपले अभिव्यक्त गर्दै राज्यशक्तिको वास्तविक स्रोत जनतामा रहेको यथार्थलाई व्यवहारमा अभिव्यक्त गर्दछ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्