काठमाडौं – नेकपा माओवादी निकट पत्रकारहरुको संस्था प्रेस सेन्टर नेपालले न्यूनतम पारिश्रमिक बढाउन माग गरेको छ । मूल्यवृद्धि बढिरहेको बेला वर्षौंअघि तोकिएको न्यूनतम पारिश्रमिक असान्दर्भिक भइसकेको भन्दै त्यसलाई बढाउनु पर्ने प्रेस सेन्टरको माग छ ।
ललितपुरको हिरिसिद्धीमा बसेको पदाधिकारी बैठकको निर्णयमा लेखिएको छ, ‘सरकारले आम कर्मचारीहरुको तलब वृद्धि गरेको तथा मुद्रास्फितिसमेत निरन्तर बढिरहेको सन्दर्भमा वर्षौं अघि न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोकेको न्यूनतम पारिश्रमिक असान्दर्भिक भइसकेकोले पारिश्रमिकमा वृद्धि गर्न बैठक जोडदार माग गर्दछ ।’ हाल न्यूनतम पारिश्रमिक २४ हजार ५०० छ ।
बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गर्न मिडिया काउन्सिल तथा आमसञ्चार माध्यमसँग सम्बन्धित अन्य कानुनहरु यथाशीघ्र प्रकृयागत हिसाबले अगाडि बढाउन र ती कानूनहरु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री बनाउन सरोकारवालालाई दबाव दिने निर्णय पनि गरेको संगठनका अध्यक्ष विष्णु सापकोटा जुगलले बताए ।
पत्रकारको स्वास्थ्य बीमा र सबैखाले सामाजिक सुरक्षा कार्यक्रमहरुलाई थप प्रभावकारी बनाउँदै आम पत्रकारहरुको पहुँचसम्म पुर्याउन पनि प्रेस सेन्टरले माग गरेको छ ।
स्वच्छ, स्वतन्त्र र निष्पक्ष व्यावसायिक पत्रकारिताको विकासका लागि देशभर दक्षता अभिवृद्धि तथा पत्रकार उत्पादन कार्ययोजना तयार गर्ने प्रतिवद्धता व्यक्त गर्दै प्रेस सेन्टरले सम्बन्धित निकायलाई यसप्रति विशेष ध्यान दिन आग्रह गरेको छ ।
पत्रकार तथा आमसञ्चार माध्यमसँग असम्बन्धित साइबर कानुनलाई जोडेर पत्रकार तथा आमसञ्चार माध्यमलाई प्रहरी प्रशासनले अनावश्यक दुःख दिने तथा धरपकड गर्ने कार्य बढाएको भन्दै आपत्ती समेत जनाइएको छ । १४ बुँदे हरिरिसिद्धी घोषणापत्र जारी गर्दै प्रेस सेन्टरको पदाधिकारी बैठक आइतबार सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्