दाङ – लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका (देउखुरी ) मा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको झण्डत्तोलन तथा प्रदेश सरकारको कार्य शुभारम्भ समारोहको लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले समुद्घाटन गर्नु भएको छ ।
समुद्घटन गर्दै प्रदेश प्रमुख शेरचनले पछाडी परेको देउखुरीमा अब आधुनिक शहर निर्माण हुने बताउनु भयो । त्यसैगरी स्वास्थ र शिक्षाका क्षेत्रमा आधुनिकताको आधारमा विकासक्रम बढाउदै लैजाने बताउनु भयो । पछाडी परेको क्षेत्रलाई अगाडी बढाउनका लागि यहाँका स्थानीयको पनि आवश्यकता रहने भन्दै देउखुरी क्षेत्रको विकास गर्नेमा आफ्नो पहल सधै रहने उहाँले बताउनु भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजित थारुले संबैधानिक व्यवस्था भएकोले लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) कसैले पनि अन्यत्र सार्न नसक्ने बताउनु भयो । “यदाकदा हल्ला सुन्दैछु, अर्को सरकार आयो भने राजधानी फेरि बुटवल जान्छ रे तर यो सबै भ्रमित कुरा हो यो कुराको पछि नलाग्नु होला”- मन्त्री थारूले भन्नू भयो ।
कार्यक्रममा विभिन्न कला संस्कृती झल्किने झाँकी जुलुस प्रदर्शन गरिएको थियो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्