दाङ – लुम्बिनी प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिनु भएको छ । आइतबार लुम्बिनीको स्थायी राजधानी देउखुरीस्थित प्रदेशसभा भवनमा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नवनिर्वाचित सांसदहरुलाई पद तथा गोपनीयताको शपथ खुवाउनु भएको हो ।
लुम्बिनीमा प्रत्यक्षतर्फ ५२ र समानुपातिक ३५ गरेर ८७ सदस्यीय प्रदेशसभा रहेको छ। शपथसँगै सांसदहरुलाई झोला र लोगोसमेत प्रदान गरिएको छ । गुल्मी निर्वाचन क्षेत्र नं. २ (१) बाट निर्वाचित लुम्बिनी प्रदेश सभाका जेष्ठ सदस्य ६९ वर्षीय डिल्लीराज भुसालले प्रदेशसभाको अध्यक्षता गर्नु हुनेछ । प्रदेश प्रमुख अमिक शेरचनले सभामुख निर्वाचित नहुँदासम्म बैठकको अध्यक्षता गर्न भुसाललाई जेष्ठ सदस्यको प्रमाणपत्र प्रदान गर्नु भएको छ । लुम्बिनी प्रदेशसभाको पहिलो बैठक सोमबार बस्दैछ ।
एमाले २९ सदस्यसहित सबैभन्दा ठूलो दल छ । नेपाली कांग्रेस २७, नेकपा माओवादी केन्द्र ९, राप्रपा ४, नागरिक उन्मुक्ति पार्टी ४, जनमत पार्टी ३, जनता समाजवादी ३, लोकतान्त्रिक समाजवादी ३, राष्ट्रिय जनमोर्चा (राजमो) १, नेकपा एकिकृत समाजवादी एक, स्वतन्त्र ३ जना छन् ।

प्रतिक्रिया दिनुहोस्