दाङ – कोरोनाको नयाँ भेरियन्टबाट संक्रमणको जोखिम बढ्दै गएपछि दाङको गढवा गाउँपालिकाले भारतसँगको सीमा नाका कोइलाबासमा कोरोना चेकजाँच हेल्थडेस्क स्थापना गरेको छ । मंगलबार गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले हेल्थडेस्क स्थापना गरेका हुन् ।
भारतबाट नेपाल भित्रिनेहरुमा कोरोनाका सम्भावित लक्षण छन् कि छैनन् भनेर परीक्षण गर्न हेल्थ डेस्क सञ्चालनमा ल्याइएको अध्यक्ष पोख्रेलले जानकारी दिए । उनका अनुसार हाल सीमा नाकाबाट आउ–जाउ गर्नेहरुलाई मास्क लगाउन अनिवार्य गरिएको छ ।
हेल्थ डेस्क स्थापना कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले कोरोनाको नयाँ भेरियन्टबाट बच्न आ–आफ्नो स्थानबाट सावधानी अपनाउन अनुरोध गरे । स्वास्थ्यमा लापरबाही नगर्न र भारतीय सुरक्षाकर्मीहरुसँग पनि सहकार्य गरेर सीमा नाकामा कडाइ गर्न उनले सुरक्षाकर्मीहरुलाई पनि आग्रह गरे ।
गढवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीका अनुसार तत्कालका लागि हेल्थ डेस्कमा कोइलाबास स्वास्थ्य चौकीबाट एकजना स्वास्थ्यकर्मीलाई खटाइएको छ । यात्रुहरुको चाप बढेमा थप जनशक्ति परिचालन गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्