दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रदेश सभा स्थापना दिवसको अवसरमा प्रदेशवासीलाई शुभकामना दिनु भएको छ ।
यस ऐतिहासिक अवसरमा परिवर्तनका लागि भएका आन्दोलनमा आफ्नो जीवन आहुती दिनुहुने सम्पूर्ण ज्ञात अज्ञात अमर शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै आन्दोलनका घाइते र बेपत्ता योद्धाहरुप्रति हार्दिक सम्मान व्यक्त गर्दछु’ भन्दै शुभकामना व्यक्त गर्नु भएको छ ।
शुभकामना सन्देशमा भनिएको छ ” नेपाली जनताको संघर्ष र बलिदानबाट नै सामन्ती राजतन्त्रको अन्त्य गरी मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको हो । परिवर्तनको जगमा स्थापित मौलिक विशेषता बोकेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सञ्चालन गरिरहेका छौं । परिवर्तित सन्दर्भमा चुलिएका जन आकांक्षाहरु पुरा गर्न तीन तहका सरकार लागिपरेका छन् । जनताको नजिकको सरकारका रुपमा रहेको प्रदेश सरकार जन आकांक्षा पुरा गर्न हामी प्रतिबद्ध छ ।
संविधानले तीन तहका सरकार बीच सहअस्तित्व, समन्वय, र सहकार्यको परिकल्पना गरेको छ । यसैको मर्मलाई आत्मसात गर्दै संघीयताको व्यवहारिक कार्यान्वयन गर्न सबैको सार्थक पहल आवश्यक छ । बितेका पाँचवर्षमा संघीयता कार्यान्वयको सन्दर्भमा भएका कार्यलाई निरन्तरता दिँदै प्रदेश सरकारले संघीयता कार्यान्वयका साथै विकास, समृद्धि र सुशासनलाई केन्द्रविन्दूमा राखेर कार्यसम्पादन गरिरहेको छ ।
‘समृद्ध प्रदेश, आत्मनिर्भर लुम्बिनी’ को लक्ष्य बोकेर प्रदेश सरकार अघि बढिरहेको छ । प्रदेशको विकास र समृद्धिको बाटोबाट उक्त लक्ष्य पुरा गर्न सार्थक योगदानका लागि हामी संकल्पित छौं ।
राजधानीको निर्णय कार्यान्वयनका क्रममा प्रदेश सरकारले राजधानी स्थल राप्ती उपत्यका देउखुरीबाट शून्यबाट कामको थालनी गरेको छ । मिनी नेपालका रुपमा लुम्बिनी प्रदेशलाई व्यवस्थित गर्न सरकार लागिपरेको छ ।
प्रदेश सभा स्थापना दिवसको यस ऐतिहासिक अवसरमा समृद्ध प्रदेशको माध्यमबाट समृद्ध राष्ट्र निर्माण गर्ने अभियानमा साथ दिन प्रदेशका सबै राजनैतिक दल, संघ संस्था, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी र आम नागरिकमा हार्दिक अपील गर्दछु । अन्त्यमा, प्रदेश सभा स्थापना दिवसका अवसरमा सबैमा हार्दिक बधाई तथा मंगलमय शुभकामना व्यक्त गर्दछु ।

प्रतिक्रिया दिनुहोस्