दाङ – देउखुरीमा चितुवाले एकैरातमा सत्र वटा बाख्रा मारि दिएको छ । लमही नगरपालिका– १ रुनेमा रहेको बसन्तराज अधिकारीको बाख्रा फार्ममा पसेर चितुवाले बाख्रा मारिदिएको फार्म संचालक अधिकारीले जानकारी दिनु भयो । राति कतिबेला फार्ममा पसेर बाख्रालाई आक्रमण गरेछ पत्तै पाइएन, बिहान बाख्रालाई दाना घाँस दिन गएको बेला मात्र थाह भयो ।” अधिकारीले भन्नु भयो ।
यस्तै लमही नगरपालिका–३ जखेरा तालका सुकबहादुर डाँगीका पनि चार वटा बाख्रा चितुवाले मारिदिएको छ, डाँगीले चरिचरणका लागि जंगल लग्नु भएको थियो । त्यस्तै मंगलबार राती नै लमही नगरपालिका – ३ का सुकबहादुर कुमालको खोरमै पसेर एउटा बाख्रा बाघले खाइदिएको कुमालको भनाइ छ ।
विगत डेढ महिना अघिदेखि देउखुरीका विभिन्न सामुदायिक वनमा चितुवाको आतंक बढेको छ । सामान्य घरखर्चका लागि पालिएका देखि व्यवसायीक रुपमै फार्म खोलेर पालिएका बाख्राहरु चरिचरणका लागि जंगल लैजाँदा दैनिक रुपमा चितुवाले खाइदिने गरेको यहाँका बाख्रा पालक किसानको गुनासो छ ।
दिनानुदिन बढ्दै गएको चितुवा आतंकले किसानहरु चिन्तित र त्रसित बनेका छन् । यसअघि पनि लमही नगरपालिका–३ का लोकमणी बन्जाडेले जंगल चराउन लगेका ३ वटा बाख्रा चितुवाले एकै स्थानमा मारिदिएको थियो । चितुवाले बाख्रा मारिदिने त्रासले किसानहरु अचेल बाख्राहरु लिएर जंगल जान छाडेका छन् ।
यता दैनिक जसो चितुवाले वस्तुभाउ माथि आक्रमण गरि क्षति पुर्याउन थालेको किसानले गुनासो गर्न थालेपछि प्रक्रिया पुरा गरेर वन कार्यालयमा निवेदन दिए क्षतिपूर्ति उपलब्ध हुने डिभिजन वन कार्यालय दाङ ( देउखुरी) का सुचना अधिकारी छोटेलाल चौधरीको भनाई छ । बाख्रा लिएर किसान जंगल जान छोडेपछि चितुवा गाउँमै पसेर वस्तुभाउ माथि आक्रमण गर्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्