वनमा आगलागी, चोरी निकासी नियन्त्रण गर्न गस्ती गरिने

दाङ समाचार
दाङ समाचार २४ फाल्गुन २०७९, बुधबार
3 Min Read
Aa

दाङ – गर्मीयाम शुरु भएसंगै वनमा डढेलो लाग्न नदिन वन कार्यालय, सामुदायिक वन, वन क्षेत्रमा काम गर्ने सामाजिक संघ संस्थाहरुले सक्रियता देखाएका छन् ।

पछिल्लो समय वन उपभोक्ता समितिले वनमा हुने आगलागी नियन्त्रणका लागि थुप्रै सचेतनामुलक कार्यक्रम गराउदै आएको छ । वनमा आगो लगाउन हुँदैन, वनबाट मानिस मात्र आश्रित नभएर, थुप्रै पशु पंक्षी, जीव जनावरहरुको बासस्थान नष्ट हुन्छ भन्ने विषयमा उपभोक्तालाई जानकारी गराउंदै आएको अजम्मरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष पवन शर्मा रिजालले बताउनु भयो ।

सामुदायिक जंगलहरुमा आगलागी, चोरी निकासी जस्ता गलत कार्यलाई रोक्न सामुदायिक वनका पदाधिकारीले पालै पालो गस्ती गर्ने भएका छौं’- रिजालले भन्नु भयो । गस्तीका क्रममा अवाञ्छित गतिविधि गर्ने भेटिएमा वन एन अन्तर्गत कारवाहीका लागि वन कार्यालयसंग समन्वय गर्ने उहाँले बताउनु भयो ।

प्रत्येक दिन विहान ७ देखि मध्यान्ह १२ बजेसम्म र दिउसो १ देखि साँझ ५ बजेसम्म दुई सिफ्टमा गस्ती गरिने अध्यक्ष रिजालको भनाई छ ।

परापुर्व काल देखि नै वन जंगलमा आगजनी गर्ने परम्परा जस्तै बनेको छ । नेपालको वन क्षेत्रमा लागेको डढेलोका घटनापछि वन तथा वातावरण क्षेत्रमा काम गर्ने सरोकारवालाहरू यसको कारणबारे खोजी गर्नुपर्ने बताउँछन् । तर, डढेलोका कारणबारे प्राय एउटै जवाफ हुने गरेको छ, मानवीय लापरवाही । घाँस पलाउने लोभमा वनमा डढेलो लगाउने गरिन्छ । तर, वन क्षेत्रमा डढेलोका घटना बढ्नुमा त्यति मात्रै कारण होइन ।

वनमा चोरी तस्करी हुन नदिन गस्ती थालेपछि गलत क्रियाकलापमा कमि आउने समूहका उपाध्यक्ष रवि श्रेष्ठले बताउनुभयो । कार्यसमितिको समूहले पालैपालो गस्तीको नेतृत्व गर्नुपर्ने छ । अध्यक्ष पवन शर्मा रिजाल, उपाध्यक्ष रवि श्रेष्ठ, कोषाध्यक्ष तेजबहादुर विक, प्रेस सल्लाहकार शिवु खनाल लगायत समितिका सबैले पालैपालो वन क्षेत्रको गस्ती गर्नु पर्ने भएको छ ।

यता डिभिजन वन कार्यालय दाङ (देउखुरी) लमहीका भिडिजनल प्रमुख राजु क्षेत्रीले वन जंगलको रक्षा गर्न अरुको मुख ताक्नुभन्दा वनको समूह आफै तम्तयार भएर नियमित रुपमा पालैपालो गस्ती जानुपर्ने बताउनुभयो । उहाँले डढेलो नियन्त्रणमा विगतमा भन्दा अहिले उपभोक्ता सक्रिय देखिएको बताउनुभयो । उपभोक्ताको अपनत्व पहिलेको तुलनामा अहिले बढेको पाइयो । उहाँहरु डढेलो नियन्त्रणका लागि जति सक्रिय हुनुपर्ने हो, त्यो भन्दा बढी सक्रिय हुनुहुन्छ । ‘नजिकैको जंगलमा डढेलो लागेको हुन्छ, पहिला निभाउन नजाने उपभोक्ता अहिले दौडेर जानुहुन्छ वा वन कार्यालयमा जानकारी गराउनु हुन्छ ।’

अजम्मरी सामुदायिक वन उपभोक्ता समूहमा ९ सय २५ घरधुरी उपभोक्ता समूह आवद्द छन् । समूहको वन क्षेत्र ७ सय ४५ हेक्टरमा फैलिएको छ । हालसम्म समूहले घाँस दाउराको प्रयोगदेखि घर बनाउन आवश्यक काठको आपूर्तिको व्यवस्था मिलाउँदै आएको छ । त्यस्तै गाउँलेको जीवनस्तर उकास्न विभिन्न सहयोग गर्नेदेखि शिक्षा, स्वास्थ्य, सडक र खानेपानीजस्ता विकास निर्माणका काममासमेत समूहको योगदान रहँदै आएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्