दाङ – भारत सरकारको लगानीमा लमही–कोइलावास हुलाकी सडक बन्यो तर यही सडकखण्डभित्र पर्ने पक्की पुल बनाउने जिम्मा नेपाल सरकारको थियो । गत वर्ष लमही नगरपालिका वडा नं. ५ स्थित बगई सोतामा रहेको पुरानो पुल भत्कियो । सडक बनाउने बेलामा नै यहाँ पक्की पुल बनाउनुपर्ने थियो तर उतिबेला बनेन । पुल भत्किएपछि नयाँ बनाउन प्रक्रिया थालियो ।
हुलाकी सडक आयोजना कार्यालयमार्फत पक्की पुल बनाउन थालियो । पुल निर्माणको काम पनि शुरु भयो तर निकै सुस्त । यही असार मसान्तभित्र काम सक्नुपर्ने जिम्मेवारीमा रहेको निर्माण कम्पनीले अहिलेसम्म पुलको एउटा खम्बासम्म हाल्न सकेको छैन । एउटा किनारको खम्बाको काम सकिएको छैन । बाँकी अर्काे खम्बाको काम नै शुरु भएको छैन । यही वर्षाभित्र काम सकिने छाँटकाँट देखिदैन । गएको वर्षामा खोलामा आएको बाढीले निकै सास्ती दियो । आवत जावत गर्न सकिएन । ड्राइभर्सन समेत बगाएको थियो ।
‘एउटा पिलरको काम पनि पूरा भएको छैन । कामदार नै देखिदैनन् । कसरी पुल निर्माण समयभित्र हुन्छ भनेर भन्न सकिन्छ’– स्थानीय तथा निवर्तमान वडाध्यक्ष वीमबहादुर केसीले भन्नुभयो– ‘ठेकेदारले काम नगर्ने, आयोजनाले म्याद थपिरहने । यसरी कामलाई बाधा प¥यो ।’
हुलाकी सडकमा पुल निर्माण अलपत्र परेको हो । काम शुरु भएको १४ महिना पूरा हुँदा पनि पुलको एउटा खम्बा उठाउने काम सम्पन्न हुन सकेको छैन । जसले गर्दा यसपालिको बर्षामा पनि आवत जावतमा सास्ती हुने देखिन्छ । नेपाल–भारत दुई देश जोड्ने सडकखण्ड हो । एक वर्ष दुई महिनाअघिबाट पुल निर्माणको काम शुरु भएको थियो । निर्माण कम्पनीले तीब्र रुपमा काम गर्न नसक्दा पुल निर्माणको कामले गति लिन नसकेको हो ।
शुरुमा निर्माण कम्पनीले सरिया र सिमेन्टको मूल्य बढेका कारण काममा आलटाल गरेको थियो । अहिले पनि बहानाबाजी गरेर कामबाट उम्किन खोजेको स्थानीयले बताएका छन् । ‘२० मिटर लम्बाइ मात्रै छ । यही काम गर्न पनि वर्षांै लाग्ने देखियो’– केसीले भन्नुभयो– ‘अहिले त के छ र ड्राइभर्सनबाट आवतजावत चलिरहेकै छ तर वर्षातमा के हुन्छ ? यात्रा गर्नेलाई मात्रै थाहा हुन्छ ।’ पुल निर्माणले गति नलिएपछि स्थानीय तहका जनप्रतिनिधिले पटक–पटक खबरदारी गरे पनि सुनुवाइ भएको छैन ।
लमही नगरपालिका वडा नं. ५ का अध्यक्ष ओमप्रसाद सुवेदीले हुलाकी सडक आयोजना कार्यालयमा पटक–पटक काम शुरु गर्न दबाब दिदै आएको बताउनुभयो । ‘यो पुलको काम समयमै सक्न भनिरहेका छौं’– उहाँले भन्नुभयो– ‘आयोजनाले पनि निर्माण कम्पनीलाई दबाब दिदै आएको छ ।’
हुलाकी सडक आयोजना कार्यालयमार्फत तीन करोडको लागतमा गाल्वा मेनका जेभीले पुल निर्माणको ठेक्का पाएको थियो तर शुरुदेखि नै काममा ढिलासुस्ती गरेका कारण पुल निर्माणमा ढिलाइ भएको हो । आउँदो असार महिनाभित्र काम सक्नुपर्ने भए पनि निर्माण कम्पनीको यही सुस्त गतिले काम सम्पन्न हुने देखिदैन । पुल निर्माण कम्पनीलाई छिटो काम शुरु गर्न र समयभित्र सक्न निर्देशन दिएको हुलाकी सडक आयोजना कार्यालयका इञ्जिनियर सुनिल गुप्ताले जानकारी दिनुभयो ।
‘दश दिनभित्र एउटा खम्बाको काम सक्छु भनेका छन् । आलटाल गर्न कुनै छुट छैन’– उहाँले भन्नुभयो– ‘असारभित्र सक्ने लक्ष्य दिइएको हो ।’ शुरुमा सरिया, सिमेन्ट र पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिका कारण कामलाई सुस्त बनाएको थियो । पछिल्लो पटक काम शुरु गरेको जनाए पनि गति भने लिन सकेको छैन । निर्माण कम्पनीका प्रतिनिधि सुनिलकुमार न्यौपानेले असार महिना भित्र काम सम्पन्न गर्ने गरी अघि बढेको बताउनुभयो । ‘अब कामदार आए भने त्यो खम्बाको ढलाई हुन्छ । अर्काे खम्बा गाड्ने मेसिन आउ‘ँदैछ’– उहाँले भन्नुभयो– ‘छिटो काम सक्ने योजना हो ।’
पुल निर्माण पूरा नहुँदा लमही कोइलावास सडकखण्डमा आवतजावत गर्ने सवारी साधनदेखि यात्रुहरुले सास्ती खेप्नु परिरहेको छ । छिटो पुल निर्माण सम्पन्न गर्नेतर्फ सम्बन्धित निकायको ध्यान जान आवश्यक छ । युगबोध राष्ट्रिय दैनिक बाट साभार

प्रतिक्रिया दिनुहोस्