काठमाडौं – हिमपहिरोमा परी तीन नेपालीको मृत्यु भएको छ । मृत्यु हुने नेपालीहरुमा चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रुपन्देहीकी मुना शाह श्रेष्ठ रहेका छन।
सिक्किमको गान्तोक–नाथुला सडक खण्डमा हिमपहिरोमा परी तीन नेपालीसहित सात जनाको मृत्यु भएको छ । करिब एक दर्जन घाइते भएको भारतीय संचार माध्यमले जनाएका छन् ।
स्थानीय समय मंगलबार दिउँसो सवा १२ बजेतिर गान्तोक–नाथुलापास जोड्ने जवाहरलाल नेहरु सडकमा हिमपहिरो खसेको थियो । हिमपहिरोमा ५–६ वटा सवारी साधनसहित २०–३० जना पर्यटक पुरिएको विविसीले समाचारमा उल्लेख गरेको छ ।
१४ जनालाई उद्धार गरेर नजिककै आर्मी क्याम्पको अस्पतालमा लगिएको थियो । तीमध्ये सात जनाको मृत्यु भएको र अन्य सात जनालाई प्राथमिक उपचार गरी गान्तोक फर्काएको भारतीय सेनाले जानकारी दिएको छ ।
चीनसँग सिमाना जोडिएको नाथुला भारतको महत्वपूर्ण हिमाली नाकाहरुमध्ये एक हो । पर्यटकीय क्षेत्र गन्तव्य पनि भएको यो क्षेत्र गान्तोकबाट करिब ५५ किलोमिटर टाढा पर्दछ । #Onlinekhabar

प्रतिक्रिया दिनुहोस्