दाङ – लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले राज्यको पैसा दुरुपयोगका कारण भ्रष्टाचार बढेको र आम नागरिकलाई आर्थिक समस्या परेको बताउनुभयो । जिआइजेडले सिद्दार्थ होटल ग्रिन लुम्बिनी लमहीको सभा हलमा आयोजना गरेको स्थानीय तथा क्षेत्रीय आर्थिक विकास चुनौती एवम् सम्भावना विषयक अन्तरपालिकास्तरीय संवाद कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले सो कुरा बताउनु भएको हो ।
उहाँले सुशासनको लागि धेरै मेहनत गर्नुपर्ने र कुनै पालिकामा प्राकृतिक स्रोत साधन नभएकोले पालिका चलाउन गाह्रो परेको बताउनु भयो ।
कार्यक्रममा नेपालगञ्ज उपमहानगर पालिकाका प्रमुख प्रशान्त बिष्ट, सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारी, कृषि तथा भूमि ब्यवस्था मन्त्रालयका घनश्याम चौधरी, प्रदेश सहकारी संघका अध्यक्ष प्रेम सुवेदीलगायतले बोल्नुभएको थियो । कार्यक्रमको पहिलो चरणमा लुम्बिनी प्रदेशका आर्थिक सुशासन तथा आर्थिक विकाससम्बन्धी चुनौती र समाधानबारे छलफल भएको थियो ।
त्यस्तै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तिहाक अहमद खान, बुटवल उपमहानगर पालिकाका उपप्रमुख साबित्रा अर्याल, कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य, कृषि तथा भूमि ब्यवस्था मन्त्रालयका घनश्याम चौधरी र नेपालगञ्ज उपमहानगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज रिजालले सम्बन्धित विषयमा टिप्पणी गर्नुभएको थियो ।
सो अवसरमा चिभमनामक पुस्तकको बिमोचन सबै प्रमुखहरुद्वारा गरिएको थियो । कार्यक्रमको अवधारणा दिप्ती खकुरेलले प्रस्तुत गर्नुभएको थियो । रामचन्द्र लामिछानेको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन डा. तेजहरि घिमिरेले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्