दाङ – गढवा गाउँपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई बुधवार गढवामा सम्पन्न भएको छ ।
गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले सेवा प्रवाहमा प्रभावकारीता ल्याउन गाउँपालिकालाई आग्रह गरेका छन् ।
गाउँपालिकाबाट प्रवाह गरिने सेवा सुविधा मध्ये योजनाहरुको बजेट भुक्तानी प्रक्रिया झन्जटीलो भएको, वडा कार्यालयहरुमा नागरिक वडापत्र र गुनासो सुनुवाईकालागि उजुरी पेटिका नभएको, योजनाहरु छनोट गर्दा तथा उपभोक्ता समिति गठन गर्दा टोलभेलाहरु नराखेको, वडा अध्यक्षहरुले वडा कार्यालयमा समय नदिएको, फोहर ब्यवस्थापन र बसपार्क ब्यवस्थापनमा दिर्घकालिन निकास निकाल्नुपर्ने, सर्पदंश उपचार केन्द्रमा आवश्यक जनशक्ति सहित भेण्टिलेटर सुचारु गरिनु पर्ने र सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न ठोस योजना सहित नियमन तथा अनुगमनको पाटोलाई प्रभावकारी बनाउनुपर्ने कुरामा सहभागीले जोड दिएका छन ।
त्यस्तै नितिगत बेरुजु कम गर्न वैकल्पिक तरिका अबलम्बन गर्नुपर्ने, न्याय सम्पादनमा प्रभावकारिता दिनुपर्ने, गाउँपालिकाको कार्यालय भवनमा लिफ्ट राखेर अपांगता मैत्रि बनाउनुपर्ने, नदीजन्य पदार्थको चोरी निकासी नियन्त्रण गर्न गाउँपालिका र प्रहरीको सक्रियता रहनुपर्ने, राजश्व संकलनमा ध्यान दिनुपर्ने, स्थानीय सञ्चार माध्यम मार्फत सुचनाहरु संप्रेषण तथा प्रकाशन गरिनुपर्ने, कृषि उपज संकलन केन्द्र, कृषि एम्बुलेन्स र शितभण्डारको व्यवस्थापन गरिनुपर्ने लगायतका कुराहरुमा पालिकाले ध्यान दिनु पर्ने उनिहरुको सुझाव थियो ।
सो अवसरमा गढवा गाउँपालिकाले हालसम्म गरेका कार्यसम्पादन, बजेट खर्च विवरण र विकास निर्माण कार्य प्रगतिका बारेमा विस्तृत प्रतिवेदन प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा उठेका जिज्ञासाहरुको जवाफ गाउँपालिकाका अध्यक्ष पोख्रेल, उपाध्यक्ष शारदा चौधरी, शिक्षा शाखा प्रमुख श्याम विक, कृषि शाखा प्रमुख कर्ताराम यादव, पंजिकरण शाखा प्रमुख ऋषि यादव र वडा अध्यक्षहरुले दिनु भएको थियो ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका पोषणराज शर्मा, नेकपा एमालेका मधा न्यौपाने, नेकपा माओवादी केन्द्रका देवराज यादव, राष्ट्रिय जनमोर्चाका कपिलदेव खनाल, गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर बुढा, देउखुरी साहित्य मञ्चका अध्यक्ष हरि पोख्रेल, शिक्षाप्रेमी समाजसेवी युवराज पोख्रेल, चित्रबहादुर रावत, हर्ट फाउण्डेशन दाङका अध्यक्ष रविलाल आचार्य, रेडक्रसका सभापति दयाराम यादव, शिक्षकहरु रामसुरत यादव, विकास रजौरे, सामुदायिक पुस्तकालयका अध्यक्ष ओभा पाठक, व्यवसायी होमराज रिजाल, कृष्ण पन्थी र टुकलाल पोख्रेल लगायतले जिज्ञासा तथा सुझाव राख्नु भएको थियो ।
सार्बजनिक सुनुवाई कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष यानारायण शर्मा पोख्रेलले गाउँपालिकाको सेवा प्रवाहमाथी उठेका प्रश्नहरु प्रती आफू गम्भीर भएको बताउदै ती कार्यलाई छिटोभन्दा छिटो व्यवस्थापन गर्ने प्रतिवद्धता जाहेर गर्नुभएको छ ।
गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको सार्वजनिक सुनुवाईको सहजीकरण पत्रकार शिबराज पन्थी, रेडियो साझा आवाजका प्रबन्ध निर्देशक दुखहरण यादव र सपना पौडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्