दाङ – राजपुर गाउँपालिकाबासीले पालिकाका अध्यक्ष र उपाध्यक्ष विरुद्ध नाराबाजी गरेका छन् । राप्ती नदीमा भएको जथाभावी उत्खननमा पालिका अध्यक्षको संलग्नता भएको आरोप लगाउंदै स्थानीयले पालिकामा नाराबाजी गर्नुका साथै तालाबन्दीको समेत प्रयास गरेका थिए ।
पालिकाको मुख्यद्वारबाट भित्र पस्न प्रहरीले रोकेपछि नाराबाजी गर्नेको समूह र प्रहरी विच केहीबेर धकेला धकेलको स्थिति सिर्जना भएको थियो । मुख्यद्वारबाट भित्र छिर्न नपाएपछि उनीहरु पूर्वतिर जहाँ पर्खाल छैन, त्यहाँबाट भित्र छिरेर पालिकाको अर्को ढोकामा ताला लगाउने प्रयास गरेका थिए । तर प्रहरीले ताला बन्दी गर्ने उनीहरुको प्रयासलाई विफल बनाएको थियो ।
राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीले इआई गरेको स्थान भन्दा बाहिर गएर उत्खनन गराएको, उत्खनन गरि डम्पिङ नगराई सिधै क्रसर कम्पनिमा लागेको, १८ हजार नदिजन्य पदार्थ निकाल्नु पर्ने ठाउँमा त्यो भन्दा तेब्बर ढुंगा गिट्टी निकाली राज्यलाई कर छली कार्य गरेको जस्ता स्थानीयले आरोप लगाएका छन् ।
राजपुर गाउँपालिका –२ बेलाका गोविन्द विक र वडा नम्बर ५ का लेखराज डाँगीले नदिजन्य पदार्थको सत्यतथ्य कुरा बाहिर ल्याउनु पर्ने माग राख्नु भयो । यदि हाम्रो माग सुनुवाई भएन भने हामी चरनबद्द तरिकाले आन्दोलनको तयारी गर्छौं’– डाँगीले भन्नु भयो । सार्वजनिक पद धारण गरेर जनताको सेवा गर्न पुगेका जनप्रतिनिधि आफै अबैध काम गर्न हुन्छ कि हुन् ? त्यो बुझ्न आग्रह गर्नु भयो ।
सर्वसाधारणले घरको लागि एक ट्याक्टर लिंदा वीस हजार जरिवाना तिराउने आफुहरुले रातदिन चोर्ने ? यसैका लागि हो हामीले जिताएर पठाएको ? स्थानीय सीता यादवले भन्नु भयो ।
पालिका अध्यक्षले जथाभावी राप्ती नदिमा जेसिवी प्रयोग गरि उत्खनन गरेको, मापदण्ड भन्दा बढी उत्खनन गरि सार्वजनिक पदको दुरुपयोग गरेको जस्ता आरोप स्थानीयले लगाएका छन । मटेरिया घाटबाट उत्खनन भएको सबै नदिजन्य पदार्थको नापजाँच गरेर राजस्व जबसम्म पालिकामा जम्मा हुँदैन तब सम्म आन्दोलन जारी रहने भीम वलीले जानकारी दिनु भयो ।
राजपुर गाउँपालिका–२ को मटेरिया घाटमा अबैध तरिकाले उत्खनन भएको गुनासो चारैतिरबाट आएपछि २०७९ चैत २८ गते वडा नम्बर २ र ४ का वडा अध्यक्ष बाहेक अन्य वडाका अध्यक्षहरुको टोलीले गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीलाई ध्यानाकर्षण पत्र बुझाएको थियो । वैशाख ४ गते कार्यपालिकाको टोलीले नापजाँच गर्दा १२ हजार १ सय ४७.७ घन मिटर बराबरको नदिजन्य पदार्थ निकासी भैसकेको थियो ।
जेठ ३ गते फेरि कार्यपालिकाको टोली मटेरिया घाटमा पुग्दा ५ वटा जेसिवी, ३० ÷ ३५ वटा ट्याक्टरले उत्खनन भैरहेको थियो, त्यति बेला हामीले पत्रकार र प्रहरीलाई खबर गर्यौं, पत्रकार र प्रहरी त्यहाँ पुगेपछि जेसिवी र ट्याक्टर भागेका थिए’– वडा नम्बर ६ का वडा अध्यक्ष श्याम रोकाले बताए । १८ हजार घन मिटर नदिजन्य पदार्थ निकाल्न पालिकाले ६० लाखको ठेक्का लगाएको थियो । तोकिएको परिमाण भन्दा बढी काम हुँदा स्थानीयको गुनासो बढेको हो’– रोकाले भने ।
जेसिविले उत्खनन गरेको स्थानमा डेढ मिटर सम्मका ठुलो ठूलो गहिरो खाडल बनाएर नदिजन्य पदार्थ उत्खनन भएको स्थानीयको गुनासो छ । प्राकृतिक सम्पदाको दोहोन गर्नेका विरुद्ध हाम्रो आन्दोलन हो, अबैध तरिकाले उत्खनन गर्ने, राज्यलाई कर छल्नेलाई कारबाही हुनु पर्ने राजपुर गाउँपालिका– ६ का घनश्याम चौधरीले भने । यस्ता भ्रष्ट जनप्रतिनिधिले तुरुन्तै राजिनामा दिनु पर्छ ।
नियमभन्दा बाहिर गएका छैनौ – अध्यक्ष बुढाथोकी
राजपुर गाउँपालिकाका अध्यक्ष शरदकुमार बुढाथोकीले नियमभन्दा बाहिर गएर कुनैपनि काम नभएको दावी गरेका गर्नु भयो । नदिजन्य बस्तुको उत्खननको ठेक्का वातावरणीय प्रभाव मुल्यांकनको रिपोर्टको आधारमा लगाइएको र कतै बदमासी नभएको उहाँको जिकिर छ ।
त्यस्तै गाउँपालिकाका उपाध्यक्ष धनपति देवी यादवले यसरी आन्दोलन नाराबाजी गर्नुको कुनै अर्थ नभएको बताउनु भयो । आफै कार्यपालिकामा बसेर निर्णय गर्ने अनि अहिले आफै यो भएन त्यो भएन भनेर बखेडा निकाल्नु भनेको कसैको बहकाउमा लागेको प्रष्ट हुन्छ ।
हामीले इआई गरेर ठेक्का लगाएर नदिजन्य पदार्थ निकालेका छौं, पालिकाले सबै काम बैधानिक तरिकाले गरेकोले यो जनताको आँखामा छारो हालेर आन्दोलनमा सहभागी गराउनु मुर्खता भएको उहाँको भनाई छ । इञ्जिनिएर सहित हामी पटक पटक ठेक्का लगाएको घाटमा पुगेका छौं, जति बाहिर सुन्नमा कुराहरु आएका छन् ति सबै सत्य नभएको मेरो बुझाई छ यादवले भन्नु भयो ।

प्रतिक्रिया दिनुहोस्