दाङ – दलित महिला संघको लुम्बिनी स्तरीय प्रदेश सम्मेलन १८ बुदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । न्याय, समानता र सम्मानका लागी लुम्विनी प्रदेशका १२ वटै जिल्लाका दलित महिला अभियान्ता र सहभागितामा दलित महिला जनप्रतिनिधिहरुको लुम्विनी प्रदेशस्तरिय सम्मेलन आयोजना गरिएको थियो ।
छलफलमा गरिवी, समानुपातिक प्रतिनिधित्व, निःशुल्क शिक्षा, अन्तरजातिय विवाह, छुवाछुत, चेलीवेटि वेचविखन, वालविबाह एच.आई.भि.एडसको खतरा, वहुविवाह, बलात्कार, प्रजनन् स्वास्थ्य, घरेलु हिंसा लगायत अन्य मुद्दाहरु र यसबाट पर्ने नकारात्मक असरहरुलाई ध्यानमा राख्दै लमही घोषणा—पत्र जारी गरिएको हो । दलित महिला संघका अध्यक्ष कला स्वर्णकारको अध्यक्षता तथा संस्थापक अध्यक्ष दुर्गा सोपको प्रमुख आतिथ्यतामा सम्पन्न पत्रकार सम्मेलनमा घोषणापत्र सार्वजनिक गरिएको हो ।
वषौ देखी बन्चितीकरणमा पारिएका दलित महिलाहरुलाई प्रदेश सरकारको हरेक संरचनामा ३३ प्रतिशत भित्र दलित महिलाको सामानुपातिक प्रतिनिधित्वको व्यवस्था गर्न माग गरिएको छ । संविधानको मर्म अनुसार प्रदेश सरकार स्थानिय सरकारले दलित शसक्तिकरण विधेयक दलित महिला मैत्री बनाई कार्यान्वयन गर्नुपर्ने, सामुदायिक विद्यालयमा गुणस्तरिय शिक्षाका लागी योग्य शिक्षक, शिक्षका र प्रर्याप्त स्रोत साधनको व्यवस्था गर्न, साथै नीजि विद्यालयमा दलित बालबालिकालाई निश्चित कोटाको व्यवस्था गर्न माग राखिएको छ ।
विद्यालयमा दलित बाल बालिकाको भर्ना दर वृद्धिका लागि भर्ना अभियान कार्यक्रम र विद्यालय छोड्ने दर रोक्नलाई आवास सहितको छात्रवृतिको व्यवस्था गरियोस् । साथै विद्यालयलाई छुवाछुत मुक्त घोषणा गर्नुपर्ने, प्राविधिक शिक्षामा दलित महिलालाई विशेष प्राथमिकता दिई छात्रवृत्तिसहित निःशुल्क अध्ययनको व्यवस्था मिलाउनुपर्ने, बुवा, आमा गुमाएका वा बेपता भएका सडक बालबालिका र अल्पत्र परेका बालबालिकालाई लालनपालन तथा शिक्षा सहितको बाल आश्रमको व्यवस्था गर्न माग राखिएको छ ।
बुवा आमाको पत्ता नलागेका वा गुमाएका बुवाको पत्ता नलागेका, अन्तरजातिय विवाहबाट जन्मेका बाल बालिकाहरुलाई राज्यले अभिभावकत्व निर्वाह गरी निसर्त नागरिकता प्रदान गर्नुपर्ने, दलित महिला माथि हुने सवै प्रकारका हिंसात्मक घटनाहरुको उजुरी सहज रुपमा दर्ता नगर्ने र कानुनी प्रक्रिया अगाडि नबढाउने अधिकारीहरु माथि कारबाहीको व्यवस्था गर्नुपर्ने, क्षमता र दक्षता भएका दलित महिलाहरुलाई सोही अनुरुपको रोजगारीमा संलग्न गराई यही आर्थिक वर्षदेखि नै सुरु हुने गरी कम्तीमा एक घर एक दलित महिला रोजगारको व्यवस्था गर्न माग राखिएको छ ।
दलित महिलाहरुलाई आर्थिक रुपमा सबल बनाउन साना उद्योग तथा व्यवसायलाई संरक्षण र प्रबद्र्धन गर्नका लागि बिनाधितो तथा बिनाब्याज ऋण उपलब्ध गराउने र मध्यम तथा ठूला उद्योग सञ्चालनका लागि सहुलियत ब्याजदरमा ऋणको व्यवस्था गर्नुपर्ने, यसका लागि दलित महिलाहरुलाई शिपमुलक तालिमको व्यवस्था गर्नुपर्ने, प्रदेश तथा स्थानिय सरकारले दलित महिलाहरुको लागि आवास सहितको लोकसेवामा निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने, द्धन्द्ध प्रभावित महिला र बालबालिकालाई शिक्षा, स्वास्थ्य, रोजगारी सहित ससम्मान पुनःस्थापित गर्न माग राखिएको छ ।
द्वन्दको समयमा अन्तरजातीय विवाह गरेका जोडीलाई सामाजिक सम्मान, सुरक्षा, रोजगारी,र कानूनी संरक्षणको व्यवस्था गर्नुपर्ने, दलित समुदायमा रहेका परम्परागत सीपको विकास र प्रबद्र्धनका लागि राज्यले विशेष कार्यक्रम सञ्चालन गरि उनीहरुको पेशा तथा व्यवसायको औद्योगिकीकरण र व्यवसायिकरण गरी सो पेशामा अग्राधिकार कायम गर्न माग राखिएको छ । दलित र गैरदलितबीचको अन्तरजातीय वैवाहिक जोडी तथा परिवारको संरक्षण र सामाजिक सुरक्षाको ग्यारेण्टी सरकारले गर्दै अन्तरजातीय विवाहका कारण पीडित दलित महिलाहरुको न्यायका लागि विशेष पहल गर्न माग राखिएको छ ।
स्वास्थ्य सेवामाथि पहुँच नपुगेका दलित महिलाहरुलाई पहुँच स्थापित गर्ने र बिपन्न दलित महिलालाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्नुपर्ने, दलित महिलामाथि गरिने हिंसा बोक्सीको आरोप, घरेलु हिंसा, यौन शोषण, मानव बेचबिखन, बलात्कार लगायतका घटनाहरुका दोषीमाथि कडा कारवाही गरि र्दुतगतीमा कानूनी उपचारको व्यवस्था गर्नुपर्ने, दलित महिला भित्रका सिमान्तकृत र पछाडी पारिएका बादी, गन्धर्व, मधेशी महिलाहरुको लागी यस प्रदेश सरकारले शिक्षा,स्वास्थ्य, आर्थिक उपार्जनका कार्यक्रमहरुको ब्यवस्था गर्न माग राखिएको छ ।
जातीय तथा लैंगिक विभेद अन्त्यसँग सम्बन्धित सबै राष्ट्रिय तथा अन्तराष्ट्रिय सन्धी, महासन्धी तथा अभिसन्धीहरु पालना गरी सोही अनुरुपको निति तथा कार्यक्रम सहित बजेटको व्यवस्था गर्न माग राखिएको हो । सम्मेलनले निर्मला सुनारको अध्यक्षतामा लुम्बिनी प्रदेश स्तरीय दलित महिला संघ गठन गरेको छ । उपाध्यक्षमा कमला बराल, सचिवमा गंगा विश्वकर्मा, कोषाध्यक्षमा लक्ष्मी परियार रहनु भएको छ । सदस्यहरुमा मनु खड्का, कमला रसाईली, मिना भुसाल, दिपिका विक, निर्मला नेपाली, कमला परियार, राधा विक रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्