दाङ – लमही आँखा अस्पतालमा अत्याधुनिक आँखा शल्यक्रिया गर्ने मेसिन जडान गरिएको छ ।
लुम्बिनी प्रदेश स्वास्थ्यमन्त्रालय र आँखा अस्पतालको संयुक्त लगानीमा आँखा सल्यक्रिया गर्ने अत्याधुनिक मेसिन जडान गरिएको हो । सल्याक्रिया गर्ने क्यामरा र भिडियो भएको माइक्रोसकप मेसिन जडान गरिएको आँखा अस्पतालका प्रमुख प्रशासक सम्शेर थापाले जानकारी दिनुभयो ।‘पहिला सामान्य खालको मेसिन थियो ।
अहिलेको मेसिन अत्याधुनिक छ । अप्रेसन हुदै गरेको लाईभ भिडियो आफन्तले हेर्न मिल्ने सुविधा पनि छ’उहाँले भन्नुभयो,‘सल्यक्रिया भइरहेको आफन्तले डिस्प्लेमा सजिलै संग हेर्न मिल्ने सुविधा पनि छ । यसले गर्दा चिकित्सको आत्मविश्वास र बिरामीका आफन्तलाई ढुक्कको वातावरण बनाउछ ।’
६० लाख रुपैयाँ बजेटबाट मेसिन खरिद गरिएको छ । जसमा २४ लाख लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय र ३६ लाख लमही आँखा अस्पतालको लगानीमा मेसिन किनिएको हो । यो मेसिनले उपचार र शिक्षण दुवैमा सहयोग पुग्ने भएको छ ।
नेपाल नेत्रज्योती संघले स्थापना गरेका अस्पतालमा आँखाको उपचार संगै पढाई हुने गरेको छ । आँखा अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्ने योजना अन्तरगत कामहरु पनि अघि बढाइएको छ ।
आँखाको अनुसन्धान र तालिम केन्द्र बनाउन गुठी संस्थान संग दुई विगाह जग्गा माग गरिएको र प्रक्रिया अघि बढेको आँखा अस्पतालले जनाएको छ । यसैविच आँखा अस्पतालले खरिद गरेको सामाग्रीको सामाजिक परिक्षण गरिएको छ ।
खरिद तथा गुणस्तर निर्धारण समितिका संयोजक रेशमबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगी, गढवा गाउँपालिकाका उपाध्यक्ष शारदाकुमारी चौधरी, नेपाल नेत्रज्योती संघका सदस्य श्यामप्रकाश आचार्य, घनश्याम सुवेदी लगायतको सहभागीता थियो ।
कार्यक्रममा खरिद भएको मेसिनको खरिद प्रक्रियाको बारेमा अस्पतालका प्रमुख प्रशासक सम्शेर थापाले जानकारी दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्