दाङ- देउखुरीको गढवा गाउँपालिका पूर्णखोप सुनिश्चित गाउँपालिका भएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरि पूर्णखोप सुनिश्चित गाउँपालिका भएको घोषणा गरिएको हो ।
जिल्ला समन्वय समिति दाङका प्रमुख तथा दाङ जिल्ला खोप समन्वय समितिका संयोजक नित्यानन्द शर्माले पूर्णखोप सुनिश्चित गाउँपालिका भएको घोषणा गर्दै खोप कार्यक्रम निरन्तर चलिरहने र निर्धारित उमेर समूहका सबै वालवालीकाहरुले खोप अनिवार्य लगाउनु पर्ने नेपाल सरकारको लक्ष्य अनुसार जिल्लाका सबै स्थानीय तहहरुलाई पुर्णखोप सुनिश्चित घोषणा र प्रमाणिकरण गर्ने कार्य अभियानकै रुपमा अगाडी बढिरहेको बताउनुभयो ।
गढवा गाउँपालिकाले स्वास्थ्य र शिक्षाको क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै पालिकाका सबै स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्था सञ्चालन तथा ब्यवस्थापन समिति र जनप्रतिनिधीहरु सबैको अथक मेहनतले पालिकालाई पूर्णखोप सुनिश्चित घोषणा गर्न सफल भएको गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रलले बताउनु भयो । खोप कार्यक्रम स्वास्थ्य सेक्टरको सबैभन्दा सफल कार्यक्रम भएको बताउँदै आगामी बर्षहरुमा सुच्छ्म ढंगले कुनैपनि बालबालिका नछुट्ने गरी अभियानलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
गढवा गाउँपालिकामा जन्मेदेखि १५ महिना सम्मका बालबालिकाहरूको संख्या ५७७ र १६ महिना देखि ५९ महिना सम्मका बालबालिकाहरूको तथ्यांक १ हजार ४ सय ६३ रहेको र खोप अभियानमा ३ जना मात्र रोजगारको शिलशिलामा अभिभावकहरु वालवच्चा लगेर ईट्टा भट्टामा काम गर्न जाने प्रचलन भएकोले खोप लगाउनबाट ड्रपआउट भएको कार्यक्रममा जानकारी गराईएको थियो ।
स्वास्थ्य कार्यालय दाङका खोप अधिकृत किशोर आचार्यले पुर्णखोप गाउँपालिका घोषणा हुन पार गरेका खोप अभियानका बिभिन्न चरणहरुबारे बिस्तृत जानकारी गराउनु भएको थियो । कार्यक्रममा जिल्ला खोप समन्वय समितिका सदस्य जुनु कुमारी बुढा, गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत आषिस चौधरी लगायतले बोल्नु भएको थियो ।
कार्यक्रममा खोप अभियानलाई सफल पार्न महत्वपुर्ण भूमिका खेल्नुहुने गढवाका आठवटै वडाका स्वास्थ्यकर्मिहरु सुनीता चौधरी, मनकुमारी यादव, मानबहादुर महतरा, देवा अधिकारी, बिन्दु कुमारी यादव, डिल्लीराज रेग्मी, बुद्धिमति पौडेल र पार्वती चौधरीलाई दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरिएको थियो । सुर्यनारायण यादवको स्वागत मन्तब्यबाट सुरु भएको घोषणा कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्