दाङ – लमही नगरपालिकाका नगर उपप्रमुख लक्ष्मी योगीले महिलाहरुको संस्थागत तथा व्यक्तिगत नेतृत्व विकासका लागि हरेक क्षेत्रमा महिलाहरुको सहभागिता र नेतृत्व अनिवार्य हुनुपर्नेमा जोड दिनु भयो । लमही नगरपालिका- ५ मा रहेको मनकामना महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उपप्रमुख योगीले सो कुरा बताउनु भएको हो ।
महिलाहरुको सशक्तीकरण र लैंगिक समानताका लागि स्थानीय सरकारको रुपमा रहेको लमही नगरपालिकाले हरेक वर्ष विभिन्न उद्यमशिल तथा व्यबसायिक तालिमहरुको समेत संचालन गर्दै आइरहेको उल्लेख गर्दै सहकारी संस्थाहरुले समेत सामाजिक उत्तरदायित्व अन्तर्गत महिलाहरुको सिप र क्षमता विकासमा रचनात्मक कार्यक्रमहरु संचालन गर्नु पर्ने उहाँको भनाई छ ।
त्यस्तै लमही नगरपालिका- ५ का वडा अध्यक्ष ओम प्रसाद सुवेदीले महिलाहरुले उद्यम गर्न चाहेमा सामुहिक वा व्यक्तीगत रुपमा समेत आफुसंग भएको सिप र दक्षताको आधारमा व्यबसायिक उद्योग संचालन गरेमा वडा र पालिकाले आवस्यक सहयोग गर्ने बताउनु भयो । महिलाहरुलाई हरेक क्षेत्रमा अव्वल बनाउन महिलाहरु आत्म निर्भर हुनु पर्ने र आत्मनिर्भरताका लागि कुनै न कुनै पेशालाई संस्थागत गर्नु पर्ने उल्लेख गर्दै वडा अध्यक्ष सुवेदीले पेशा व्यबसायमा संलग्न कुनैपनि ब्यक्ती भोकै मर्नु नपर्ने बताउनु भयो ।
आज कार्तिक २८ गते भएको साधारण सभा कार्यक्रममा असल ऋणी, जेष्ठ नागरिक गरि दुई दर्जन बढीलाई सम्मान गरिएको छ । यसरी सम्मानित हुनेहरुमा अशोकादेवी चौधरी,आँसु चौधरी, कृष्णी चौधरी, कृष्णी चौधरी, विजय लक्ष्मी केसी, माया कार्की लगायत छन । सहकारी संस्थाकी अध्यक्ष विजया खड्काकाे अध्यक्ष्यता तथा लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारीहरु पछिल्लो समय बदमासी भैरहेको भन्दै ऋण लगानी गर्दा विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिएका थिए । ऋण लग्ने तर ऋण नतिर्ने माथि निगरानी बढाउनुपर्ने र छुट्टै एउटा कानून बनाएर समस्या हल गरिनुपर्ने बताएका थिए । कार्यक्रममा आर्थिक वर्ष २०८०/८१ काे आर्थिक प्रतिबेदन काेषाध्यक्ष विजय लक्ष्मी केसीले ७ कराेड बराबरको आय ब्यय प्रस्तुत गर्नु भएको थियो भने वार्षिक प्रतिवेदन सचिव चित्रा चाैधरीले प्रस्तुत गर्नु भएको थियो । सहकारीका उपाध्यक्ष जानका पाण्डेको स्वागत मन्तव्य रहेको थियो भने कार्यक्रमको संचालन याेगमाया शाहीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्