भक्तपुरमा रुखले बस र स्कुटर च्याप्दा ३ जनाको मृत्यु

दाङ समाचार
दाङ समाचार ८ श्रावण २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं – भक्तपुरको भक्तपुर नगरपालिका- १ सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई च्याप्दा ३ जनाको मृत्यु भएको छ । सल्लाको रुख ढलेर काठमाडौंबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई च्याप्दा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।

मृत्यु हुनेमा एक जना नितेज खर्बुजा रहेको र अरु दुई जनाको पहिचान नभएको प्रजिअ शर्माले बताइन् । अहिले नेपाली सेनाले सडकमा ढलेका रुख हटाउने काम गरिरहेको छ । सल्लाको ठूलो रुख ढलेकाले हटाउन केही समय लाग्ने प्रजिअ शर्माले बताइन् ।

घाइतेहरूलाई भक्तपुरमा रहेका इवामुरा अस्पताल र भक्तपर अन्तराष्ट्रिय अस्पताल उपचार भइरहेको छ । यसैबीच, घटनामा घाइते भएकाहरूको यथाशिघ्र उपचारको व्यवस्था गर्न गृहमन्त्री बालकृष्ण खाणले भक्तपुर प्रशासनलाई निर्देशन दिएका छन् ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूलाई फोन गरेर उनले यथाशिघ्र उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । उनले ढलेका रुख र च्यापिएका सवारी हटाएर सडक सुचारु गर्न पनि निर्देशन दिएको उनका प्रेस संयोजक मधुसुधन भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्