बाँकेमा कोरोना सङ्क्रमित बढ्दै

दाङ समाचार
दाङ समाचार १२ श्रावण २०७९, बिहीबार
1 Min Read
Aa

दाङ – बाँकेमा खुला सिमानाका कारण कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ। स्वास्थ्यकर्मीले सतर्कता अपनाउन आग्रह गरे पनि सर्वसाधारणले बेवास्ता गरेकाले जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या अहिलेसम्म ५७ पुगेको छ।

सीमाक्षेत्र जमुनाह र भेरी अस्पतालमा थप तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।

ती बिरामीमा विगतमा जस्तो डरलाग्दो अवस्था नभएको र सामान्य रुघाखोकीको लक्षण मात्रै देखिएकाले आत्तिनुपर्ने अवस्था नभएको उनले बताए।

भेरी अस्पताल नेपालगञ्जमा १६ जनाको पिसीआर परीक्षण गर्दा दुई र जमुनाहानाकामा एक जनाको एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको हो। अधिकांशले होमआइसोलेसनमा स्वास्थ्यलाभ गरिरहेका छन्।

सोसँगै जिल्लामा कूल कोरोना सङ्क्रमितको सङ्ख्या २१ हजार १५४ पुगेको उक्त केन्द्रले जनाएको छ। बाँकेमा अहिलेसम्म २० हजार ७४३ कोरोना सङ्क्रमित निको भइसकेका र ३५४ जनाको मृत्यु भएको छ।

पछिल्लो केही दिनदेखि कोरोना सङक्रमितको सङ्ख्या बढ्दै गएपछि सीमा क्षेत्रमा आवतजावतमा कडाइ गर्नाका साथै स्वास्थ्य मापदण्ड पालना गर्नसमेत आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्