रासायनिक मलको अभाव झेल्दै दाङका किसान

दाङ समाचार
दाङ समाचार १२ श्रावण २०७९, बिहीबार
5 Min Read
Aa

दाङ – लमही नगरपालिका वडा नम्बर ५ बयलडांडाका किसान खुसीराम चौधरी मल नपाएर हैरान छन । यादव भन्छन“– धान रोपेको दुई महिना भैसक्यो तर मल पाउन सकिन । मल बिनाको धानखेति गरिएको छ, यसरी गरेको खेति कसरी सफल होला ! खुसीरामले भने । धान रोपेको वीस बाइस दिनमा मल हाल्नु पर्थ्यो तर दुई महिना बितिसक्दा पनि मल पाइएन । यो बेला भनेको खेतमा धान हरियो हुँदै झाङिने समय हो, मल छैन पानीको भरमा के फल्लार ? खुसीरामको भनाई छ ।

मलको लागि कैयौंपटक सहकारी गए, कृषि कार्यालय पुगे तर कतैबाट मल पाउन नसकेपछि कोइलाबास भन्सार हुँदै भारतको तुलसीपुर बजार पुगेर मल ल्याए । भारतबाट पनि मल ल्याउन त्यति सहज नभएको उनले बताए । दश लम्बरीको बोरा ल्याएको थिए तर भन्सारमा मलको मुल्य भन्दा बढि कर तिर्न तिर्नु पर्यो“– खुसीरामले भने । त्यस्तै लमही नगरपालिका वडा नम्बर ३ वनगाउँका देबेन्द्र चौधरीको पनि समस्या उस्तै भएको गुनासो गरे । एक बिगाह खेतको लागि आवश्यक मल उनले पनि सिमावर्ती भारतीय बजार पुगेर ल्याएको सुनाए । यताको भर परेको भए सायद मेरो खेति हुदैनथ्यो होला, मलले नपुगेर धान भने जस्तो सप्रिन सकेन“– देबेन्द्रले भने ।

दाङ भित्री मधेस अन्तर्गत पर्ने जिल्ला हो । उपल्लो दाङ उपत्यका र तल्लो देउखुरी उपत्यका धान खेतिका लागि उर्वरभुमि मानिन्छ । रामदिन जस्तै धेरै किसानले मलको अभावमै धान रोपेका छन । समय घर्किदै गएपछि मल बिनै किसान धान रोप्न बाध्य भएका हुन । यसरी खेती गर्दा धान उत्पादन घट्ने हो की भन्ने कुराले किसान चिन्तित छन ।

मल नपाएर चिन्तित बनेका किसान समयमै पानी नपर्दा झनै चिन्तित छन । लामो समय पानी नपर्दा खेत धाजा धाजा परेका छन। दुइ दिन यता मनसुन सक्रिय देखिन थालेपछि किसानमा थोरै भएपनि खुसी छाएको छ । नेपाल सरकारले ल्याउन नसकेको रासायनिक मल स्थानीय सरकार र सहकारीले ल्याउन सक्ने कुरै भएन तर दाङ भारतसंग सिमाना जोडिएको जिल्ला भएको कारण भारतिय बजारका व्यापारीसंग समन्वय गरेर ल्याउन सकिने राप्ती गाउँपालिका वडा नम्बर १ का किसान मधुकर शर्माले बताए ।

मलको कारोबारमा पनि कालोबजारी भएको उनको दावि छ । पावर र पहुँच हुनेले समयमै मल ल्याए, खेति गरे तर निम्न स्तर भएका किसान चुप लागेर बस्नु पर्ने स्थिति आएको उनको भनाई छ । नेपाल सरकारबाट अनुदानमा पाईने डिएपी र पोटास बाहेक यूरिया मल न स्थानीय सरकारले उपलब्ध गराउन सक्यो न किसानका लागि काम गर्ने सहकारीले ।

राजपुर गाउँपालिका वडा नम्बर ६ का खुसीराम चौधरीले रासायनिक मल पाइन्छ कि भन्ने आसले गाउँपालिकाको कृषि शाखा र सहकारी धाउदा धाउदै थाकि सके तर उनके समयमा एक किलो मल पाउन सकेनन । सधैं प्रकृतिबाट ठगिने किसानहरु यो पटक रासायनिक मल नपाउँदा झनै दुखित बनेका छन । मनग्य धान फल्ने खेतमा यो पटक धान नफल्ने छाँटकाँट देखिन लागेपछि घरपरिवार कसरी पाल्ने भन्ने चिन्ता लाग्न शुरु भएको अर्का किसान सुर्यलाल केसीले बताए ।

खेतिपातिको सिजन नजिकिदै गर्दा समयमै मलको व्यवस्थापन गरिदिन स्थानीय सरकारलाई ध्यानाकर्षण गराउदा पनि तदारुकता नदेखाएको दाङका किसानको गुनासो छ । खेतिपातिबाटै जिविका चलाएका यहाँका किसानहरु चर्को शुल्क तिरेर मल लिन भारत जानु पर्ने बाध्यता सिर्जना भएको छ । स्थानीय तहको निर्वाचनमा किसानलाई सहज रुपमा मल उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका जनप्रतिनिधि पनि मलको सहज व्यवस्थापन गर्नबाट चुकेको देखिन्छ । मलको समस्या समाधान गर्न सरकारले ठोस योजना बनाएर कार्यान्वयन गर्नुपर्ने देखिन्छ । दाङमा हजारौं हजार बिगाह खेतमा किसानले बिना मल धान रोपेका छन ।

दाङमा झन्डै बिगाह जमिनमा धानखेति गर्ने गरिन्छ । समयमा पानी नपर्दा हाल सम्म चौहत्तर प्रतिशत मात्र धान रोपाइँ भएकोे कृषि ज्ञान केन्द्र दाङले जानकारी दिएको छ ।

सरकारले किसानलाई सहज होस् भनेर अघिल्लो वर्ष देखि कोटा अनुशार मल वितरण गर्दै आएको छ । कृषि सामाग्री केन्द्र र साल्ट्र ट्रेडिङ कम्पनीले अहिले मल वितरण गराउने जिम्मा पाएका थिए । कृषि सामाग्री केन्द्रले सहत्तरी प्रतिशत मल आपूर्ति गर्नु पर्ने र साल्ट्र ट्रेडिङ कम्पनीले तीस प्रतिशत मल आपूर्ति गराउनु पर्ने जिम्मेवारी हो तर कृषि सामाग्रीले मल ल्याउन सकेन, हामी कहाँ तीस प्रतिशतमात्र मल आउछ सोहि मलबाट काम चलाई रहेका छौं”– साल्ट्र ट्रेडिङ दाङका कार्यालय प्रमुख रामबाबु प्रसाद गुप्ताले जानकारी दिए । तीस प्रतिशत मलले समग्र दाङ जिल्लाभरिका किसानलाई पुर्याउन गाह्रो छ”– गुप्ताले भने ।

प्रतिक्रिया दिनुहोस्