नवलपरासीपूर्वमा पोखरीमा डुबेर दुई जनाको मृत्यु

दाङ समाचार
दाङ समाचार १५ श्रावण २०७९, आईतवार
1 Min Read
Aa

काठमाण्डौं– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का छुट्टाछुट्टै स्थानमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष पाठकका अनुसार शनिबार जिल्लाको कावासोती र देवचुलीमा पोखरीमा डुबेर दुईको मृत्यु भएको हो।

कावासोती–४ झुलुङ्गे पुलस्थित पोखरीमा देवचुली–१० गणेश टोलकी माया सिंजालीका छ वर्षीय छोरा ऋतिक पौडी खेल्ने क्रममा अचानक डुबेर बेपत्ता भएका थिए। पोखरीमा बेपत्ता बालकलाई अस्थायी प्रहरी पोष्ट शङ्खदेवबाट खटिएको टोली र स्थानीय वासिन्दाले उद्धार गरेका थिए।

पोखरीमा डुबेको अवस्थामा उद्धार गरिएका सिंजालीको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक पाठकले जानकारी दिए। शव मध्यविन्दु जिल्ला अस्पताल डण्डामा राखिएको र घटनाबारे थप अनुसन्धान कार्य भइरहेको पाठकले बताए।

यस्तै, शनिबार नै कावासोती–१४ हेगौलीमा पोखरीमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु भएको छ। हेगौलीका पुरण चौधरीकी छोरी प्रिन्सा चौधरी आफ्नै घर अगाडि आँगनमा खेल्ने क्रममा नजिकै रहेको आफ्नै माछा पोखरीमा डुबेकी थिइन्। पोखरीबाट उद्धार गरी उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा ल्याइएकोमा चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका प्रहरी नायब उपरीक्षक पाठकले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्