नेपाल सांस्कृतिक संघबाट राजिनामा दिए गायक रिजालले

दाङ समाचार
दाङ समाचार १६ श्रावण २०७९, सोमबार
2 Min Read
Aa

काठमाडौं – लोक तथा दोहोरी गायक घनश्याम रिजालले नेपाल सांस्कृतिक संघको केन्द्रीय सदस्य पदबाट राजिनामा दिएका छन्। नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघलाई अध्यक्ष तीर्थबहादुर थापाले मागी खाने भाँडो बनाएको भन्दै चर्चित कलाकार घनश्याम रिजालले केन्द्रीय सदस्यबाट राजीनामा दिएका हुन् । बिगत २० बर्षदेखि संघको निरन्तर अध्यक्ष रहेका थापाले कार्यक्रमका नाममा विदेश पठाउँदा गैह्रकलाकारसँग पैसा असुलेर मानव तस्करी गरेको आरोप पनि लागेको छ ।

विभिन्न देशका जनसम्पर्क समितिहरुलाई गैह्रकलाकारहरुलाई कलाकार बनाएर संघकै दुरुपयोग गरिनुले भोलि संस्थालाई हेर्ने दृष्टिकोण के हुन्छ भन्ने प्रश्न सृजना गरेको बताउँदै चर्चित लोकगायक रिजालले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले कि त नेपाल सांस्कृतिक संघलाई तुरुन्त महाधिवेशर्नको मिति तय गर्न निर्देशन देओस् नत्र सांस्कृतिक संघको नेतृत्वलाई तुरुन्त बर्खास्त गरोस् भन्ने माग गरेका छन् ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति स्याङ्जाका सदस्यसमेत रहेका चर्चित लोकगायक रिजालले संघमा धेरै विकृति र व्यक्तिवादी प्रवृति हावी रहेको, राम्रा मान्छे भन्दा हाम्रा मान्छेहरुको बाहुल्यताले संघ कतातिर जादैछ भन्ने बिषय सोचनीय विषय बनेको बताएका छन् ।

“कसैको कामको मुल्याङ्कन भन्दा चाकडी, चाप्लुसी र गुलामीलाई प्रशय दिदै नेतृत्वको व्यक्तिवादी मनोमानीपनले संस्थालाई कहिल्यै हित गर्दैन, न विधिसम्मत न विधानसम्मत तरिकाले चलेको नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघमा रहेका गलत प्रवृतिका व्यक्तिहरुबाट कांग्रेसलाई सहयोग होला भनेर सोच्नु नै दुर्भाग्य हो” उनले भनेका छन् ।

लोकगायक रिजालले राजीनामा पत्रमा भनेका छन् “यस्तो दर्जनौं प्रवृति झांगिएको संस्थामा केन्द्रीय सदस्यको रुपमा रहन मेरो व्यक्तिगत स्वभाव र स्वाभिमानले दिएन, त्यसैले आजैको मितिबाट लागु हुने गरी राजीनामा पेश गरेको छु, नेपाल सांस्कृतिक संघ र नेपाली कांग्रेसको हित चिताउनु भएको छ भने तपाई लगायत अन्य साथीहरुले पनि राजीनामा दिनुहुनेछ भन्ने मलाई विश्वास छ, जय नेपाल । ”

प्रतिक्रिया दिनुहोस्