कांग्रेस माओवादी बहुत खतरनाक तत्व हुन्, जे पनि गर्न सक्छन्ः ओली

दाङ समाचार
दाङ समाचार २० श्रावण २०७९, शुक्रबार
2 Min Read
Aa

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र बहुत खतरनाक तत्व भएको आरोप लगाएका छन् ।

शुक्रबार एमाले उपत्यका विशेष प्रदेश कमिटीले आयोजना गरेको रणनीतिक कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कांग्रेस-माओवादीमाथि निरन्तर निगरानी गर्नुपर्ने बताए ।

‘कांग्रेस-माओवादीले जे पनि गर्न सक्छन् । उनीहरुलाई निगरानी गर्नुपर्छ,’ उनले भने, ‘उनीहरुले जे पनि गर्न सक्छन् ।’ अध्यक्ष ओलीले अहिलेको गठबन्धनलाई लाज शरम पचेको हुँडारको संज्ञा दिए ।

उनले भने, ‘यिनीहरूको निगरानी गर्नुपर्छ, उनीहरूले जे पनि गर्न सक्छन् ।’ अहिले चुनाव जित्न कार्ल मार्क्सको पुँजी पढ्नु नपर्ने उनको तर्क थियो ।

‘अहिले दास क्यापिटल नपढ्नुस्, चुनावपछि पढ्नुहोला । माओका भोल्युम पनि पढ्नुपर्दैन । नेपाल पढ्नुस्,’ उनले भने । चुनाव अगाडि गठबन्धनले दिग्भ्रमित बनेका मतदातालाई भ्रममुक्त गर्न उनले नेता कार्यकर्तालाई निर्देशन दिए । ‘मतदातालाई अरुले दिगभ्रमित बनाउन नसकून् ।

भ्रममा नपरेका कोरा कागजमा नाम लेखिहालौं,’ उनले भने, ‘भ्रममुक्तलाई आफ्नो पक्षमा स्पष्ट बनाउने र भ्रमितलाई भ्रममुक्त गरिदिने ।’ अध्यक्ष ओलीले गठबन्धनले आँखामा मोतीविन्दू हालिदिएकाहरूलाई भ्रममुक्त गराइदिन आग्रह गर्दै भने, ‘उनीहरुको आँखाबाट भ्रमको मोतीविन्दू मुक्त गर्नुपर्छ ।

’ उनले स्वतन्त्र उम्मेदवारले सबै काम गर्न सक्छ भन्ने भ्रम छर्न खोजिएको टिप्पणी गरे । ‘स्वतन्त्रले जित्न संसारका सबै मानिस पागल भएका छन् ? दलीय प्रणाली चाहिँदैन ? एउटा प्रणालीमा नचले देश कसरी अगाडि बढ्छ ?’ उनले प्रश्न गरे ।

स्वतन्त्रहरूले एकरूपतामा काम गर्न नसक्ने उनको तर्क थियो । उनले भने, ‘स्वतन्त्रहरुको सोच हुँदैन ? फरक फरक सोच भएका मानिसहरुले एकरूपतामा कसरी काम गर्छन् ? स्वतन्त्रले उत्पात गर्छ भनेर ह्वीम चलाइएको छ । सम्भवै नहुने कुरा हो ?’

प्रतिक्रिया दिनुहोस्