दाङका ६ पालिकाको १६ मतदान स्थल अन्यत्र सार्ने निर्णय

दाङ समाचार
दाङ समाचार २२ श्रावण २०७९, आईतवार
3 Min Read
Aa

दाङ – यहि मङ्सिर ४ गते संघ र प्रदेशको निर्वाचन मिति तोकिएपछि दाङमा पनि यसको आन्तरिक तयारी तीव्र पारिएको छ ।

जिल्ला निर्वाचन कार्यालय दाङले जिल्ला स्थित राजनीतिक दल, दाङका १० वटै पालिका प्रमुख एवं अध्यक्ष, सुरक्षा निकाय प्रमुखहरुसँग दाङमा मतदान केन्द्र र स्थलको अवस्था र पुनरावलोकन बारेमा छलफल गरी निष्कर्ष निकालिएको छ ।

जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको बैठकमा निर्वाचन आयोगले जारी गरेको निर्वाचन संचालन कार्यविधिका बारेमा राजनीतिक दलहरुलाई जानकारी गराइएको छ ।

निर्वाचन प्रयोजनका लागि यसअघि तोकिएका मतदान स्थल थप नगर्ने गरी केही अपायक ठाउँको विकल्प खोज्दै सबैको सहमतिमा फरक ठाउँमा मतदान स्थल तोकिएको छ । जस अनुसार जिल्लाका ६ वटा पालिकाका १६ वटा मतदान स्थललाई पायक पर्ने स्थानमा सारिएको छ ।

प्रदेश निर्वाचन अधिकारी नारायण प्रसाद भण्डारीका अनुसार, यसअघि गठित कार्यदलले गरेको सिफारिसका आधारमा गढवामा ४ वटा, घोराहीमा ३ वटा, तुलसीपुरमा १ वटा, बंगलाचुलीमा ५ वटा, राप्ती गाउँपालिकामा १ वटा र शान्तिनगर गाउँपालिकामा २ वटा गरी १६ मतदान स्थललाई पायक ठाउँमा सारिएको छ ।

निर्वाचन आयोगले समयको अभावका कारण तयारी नपुग्ने भन्दै साविककै संख्यामा रहने गरी अपायक ठाउँमा भएका मतदान स्थलको मात्रै विकल्प खोज्न सकिने गरी परिपत्र गरेपछि जिल्लामा पनि मतदान केन्द्र नथपिएको उनले बताए ।

बैठकमा पालिकाका जनप्रतिनिधिहरुले प्रदेश र संघीय निर्वाचनलाई थप व्यवस्थित बनाउन पालिका पनि गम्भीर रहेको बताउँदै मतदाता शिक्षा, निर्वाचनको महत्वका बारेमा गाउँगाउँमा सचेतना फैलाउने बताए । निर्वाचन सुरक्षा तथा मतदाताको पहुँचलाई ख्याल गर्दै मतदान स्थल हेरफेर गरिएको राजनीतिक दलहरुको भनाई छ ।

बैशाख ३० गते भएको निर्वाचनमा दाङमा १ सय ५३ मतदान स्थल र ४ सय ६१ मतदान केन्द्र तोकिएको थियो । बैठकमा जिल्लाका सबै राजनीतिक दल, पालिकाका जनप्रतिनिधि, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द रिजाल, रणसिंह गणका प्रमुख सेनानी रविन्द्र महर्जन, राष्ट्रिय अनुसन्धानका अधिकृत लगायतको उपस्थिती रहेको थियो ।

जिल्ला निर्वाचन कार्यालय दाङका अनुसार असार १ गतेबाट शुरु भएको मतदाता नामावली संकलन अभियानमा ९ हजार २ सय मतदाता थपिएका छन् । यसअघि ४ लाख ९ हजार ९ सय २ जना मतदाता रहेका थिए । निर्वाचन आयोगको सिफारिसमा सरकारले मंसीर ४ गते दुवै तहको निर्वाचन गर्ने गरी मिति तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्