माओवादी र एकीकृत समाजवादीलाई शेरबहादुर देउवाको सहारामा हिँड्नुपर्ने बाध्यता छ: शंकर पाेखरेल

दाङ समाचार
दाङ समाचार २२ श्रावण २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई ल्याएर वाम एकता गर्ने सम्भावना नरहेको बताएका छन्।

प्रचण्ड र माधव नेपालले सबैभन्दा बढी एमालेविरुद्ध मोर्चाबन्दी गरेकाले उनीहरूलाई ल्याएर एमाले बलियो हुन नसक्ने पोखरेलको भनाइ छ।

एमाले जिल्ला कमिटी रुपन्देहीले आइतबार भैरहवामा आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई उनले माओवादी केन्द्र र एकीकृत समाजवादी विचार, गन्तव्य, लक्ष्यमा द्विविधा रहेको पार्टी भएको बताए।

‘माओवादी केन्द्र र एकीकृत समाजवादीलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सहारामा हिँड्नुपर्ने बाध्यता छ’, उनले भने। एमालेको मुख्य प्रतिस्पर्धा कांग्रेससँग नै रहेको उनले बताए।

अब एमालेले पार्टी प्रवेश र ‘घर फर्क अभियान’ थाल्नुपर्ने उनको भनाइ छ। नेता पोखरेलले संक्रमणलाई लम्ब्याउने काम भइरहेको र त्यसको नेतृत्व पाँचदलीय गठबन्धनले गरेको आरोप पनि लगाए।

लुम्बिनी प्रदेशका पहिलाे मुख्यमन्त्रीसमेत रहेका पोखरेलले एमाले नेतृत्वको सरकार इतिहासकै सफल सरकार भएको दाबी गरे। उनले एमाले नेतृत्वको सरकारले गरेका राम्रा काम जनताकामाझ लैजानुपर्नेमा जोड दिए।

‘प्रतिनिधिसभा विघटन गलत थिएन, जनतामा जानु गलत कुरा हो? आफ्नो नेतृत्वमा बनेको सरकार कसले संकटमा पार्न खोज्छ?’ , उनले प्रश्न गरे। पार्टीविरुद्धको घेराबन्दी एमाले नेतृत्वले गरेको राम्रा कामको परिणाम भएको उनको दाबी थियो।

प्रतिक्रिया दिनुहोस्