काठमाडौं – वीरगञ्ज भन्सार कार्यालय, पर्साका एकजना कर्मचारी गएराति प्रहरीबाटै कुटपिटमा परेका छन् । सोमबार मध्यराति साढे ११ बजे ड्यूटीमा रहेका बेला सिभिल प्रहरी हौं भन्दै आएका व्यक्तिले कार्यालय सहयोगी बमबहादुर विशंखेलाई दुर्व्यवहार गरेका हुन् ।
भन्सार कार्यालयका अनुसार हरेक दिन राति १० बजेपछि वीरगञ्ज भन्सारको बेरियर बन्द गरिने गर्छ । तर सोमबार बेलुकी निर्धारित समयभन्दा डेढ घन्टा पछाडि चार/पाँच जना आएर वेरियर खोल्न लगाउँदै कार्यालय सहयोगीलाई दुर्व्यवहार गरेका थिए ।
‘मादक पदार्थ सेवन गरेर नेपाली गाडीमा आएका उनीहरुले नेपाल प्रहरीको स्टाफ हुँ भन्दै गाली गरेका थिए’ विशंखे भन्छन्, ‘मैले कार्ड देखाउन भन्दा पनि टेरेनन्, गाडी पनि प्रहरीको थिएन ।
’ वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक अरुण पोखरेलका अनुसार उनीहरुले कार्यालय सहयोगी विशुंखेले सोधपुछ गर्न खोज्दा उल्टै लछारपछार र दुव्यर्वहार गरेको पाइएको छ ।
‘उहाँले आफ्नो शरीरमा चोट पटक लगेर हात, पिठ्यूँ, गालामा पनि निलो डाम बसेको भन्दै निवेदन दिनु भएको छ’ पोखरेलले भने । विशंखेले कार्यालयमा निवेदन दिँदै कार्यालयमा रहेका सीसी टीभी फुटेजलाई पनि हेरेर घटनामा संलग्नलाई कानून अनुसार कारबाही गर्न माग गरेका छन् ।
‘निवेदनका आधारमा कर्तव्यपालनको सिलसिलामा ड्यूटीमा रहेका कर्मचारीलाई हातपात गर्नेलाई आवश्यक कारबाही गर्न जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्सामा लेखी पठाउने निर्णय गरेका छौं’ पोखरेलले भने ।
भन्सारका कर्मचारीहरुका अनुसार सीसी टीभीभन्दा बाहिरको रेञ्जमा लगेर पनि विशंखेमाथि कुटपिट भएको थियो । ‘पछि सशस्त्र प्रहरीले सहयोग नगरेको थियो भने विशंखे झन् गम्भिर घाइते हुने अवस्था थियो’ एक अधिकारी भन्छन् ।
त्यहाँ खटिएका सुरक्षाकर्मीहरुका अनुसार त्यसरी कर्मचारीलाई दुव्र्यवहार गर्ने प्रहरीको टोली घुसुवा प्रहरीका असई सागर राणा नेतृत्वको टोली हो । तर जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी रमेश बस्नेतले सामान्य विवाद भएको हुनसक्ने बताए । उनले भने, ‘पत्र पठाउँछु भनेका छन्, आएपछि हेर्छौैं ।’

प्रतिक्रिया दिनुहोस्