नुवाकोट र रसुवामा पहिरो : सडक-पुल भत्किए, धानखेत पनि बगे

दाङ समाचार
दाङ समाचार २५ श्रावण २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं – गएरातिको वर्षासहितको बाढीले नुवाकोट र रसुवाका सडक तथा पुलमा क्षति पुर्याउँदा यातायात आवागमन अवरुद्ध भएको छ । कतिपय स्थानमा किसानका धान खेतसमेत पहिरोले बगाएको छ ।

रसुवाको उत्तरगया गाउँपालिका–५ बनुवा घुम्तीस्थित पासाङ ल्हामु राजमार्ग नै पहिरोले भत्काउँदा दुईतर्फी सवारी आवागमन ठप्प भएको छ । प्रहरीका अनुसार त्यहाँ वैकल्पिक बाटो बनाउने प्रयास भइरहेको छ ।

पासाङ ल्हामुमा क्षति पुग्दा गोसाइँकुण्ड जाने पर्यटक र स्थानीयवासी प्रभावित भएका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार तादी नदीमाथि बनेका कतिपय पक्की पुलहरु भत्किएका छन् ।

नुवाकोट प्रहरीका अनुसार पञ्चकन्या गाउँपालिका, दुप्चेश्वर गाउँपालिका, तादी गाउँपालिका र लिखु गाउँपालिकामा सडक र पुलमा क्षति पुगेको छ । सडक र पुल भत्किंदा टोखा–छहरे सडकखण्डमा यातायात अवरुद्ध भएको छ ।

देवीकोटको मन्दिर, खैरहनी पुल लगायतमा पनि पहिरोले क्षति पुर्याएको प्रहरीले जनाएको छ । यसैगरी नुवाकोटको दुप्चेस्थित बुद्धभूमि हाइड्रोपावरको ड्याम भत्किएपछि त्यहाँ फसेका दुई जना कर्मचारीहरुलाई आज बिहान प्रहरीले उद्धार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्