दाङ – दाङको राप्ती गाउँपालिकाले वृक्षारोपण गरेर अन्तर्राष्ट्रिय युवा दिवस मनाएको छ । अन्तरपुस्ताको ऐक्यवद्वता स् सबै उमेर समूह मैत्री विश्व निर्माणमा साझा प्रतिबद्धता भन्ने मूल नाराका साथ राप्ती गाउँपालिकाले वडा नम्बर ५ को कालापानी स्थित दोलाई खोलाको ढिकमा वृक्षरोपण गरेर युवा दिवस मनाएको हो ।
खोलाको खाली ठाउँमा छतियुन, जावुन, सिरिस, गुलमोहर गरि कुल ५०० बिरुवा रोपिएको गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिएका छन् । युवा दिवसलाई रचनात्मक बनाउन तथा खोला कटान रोकथामका लागि पनि वृक्षारोपण गरिएको अध्यक्ष विष्टले बताएका छन् । यसै बीच वृक्षारोपण पछि अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियोे ।
गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले बिरुवा रोपेर मात्र नभई त्यसको संरक्षण आवश्यक रहेको बताएका थिए । बोट बिरुवा भए मात्र मानव जीवन बाँच्न सक्ने भएकाले वृक्षारोपण सँगै बोट बिरूवाको संरक्षणमा लाग्न सवै युवा वर्गमा आग्रह गरेका छन् ।
कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरी, वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चौधरी, ८ का वडा अध्यक्ष चन्द्र गुरूङ, ४ का वडा अध्यक्ष विरबहादुर चौधरी, मावि मौरीघाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुकुम बहादुर बस्नेत लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्