काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले समयमै परीक्षा नलिने र नतिजा प्रकाशित नगर्ने हो भने नेपालको शिक्षा प्रणाली बेथितिमा जाने बताएका छन्।
शनिबार काठमाडौँमा आयोजित नेपालको विद्यालय शिक्षा र नतिजासम्बन्धी अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले विभिन्न कारण देखाएर समयमै काम नगर्ने हो भने शिक्षा प्रणाली बेथितिमा जाने बताएका हुन्।
उनले नेपालमा साँच्चिकै शैक्षिक सुधार गर्न आवश्यक रहेको भन्दै सरकार यसप्रति प्रतिवद्ध रहेको बताए। शिक्षक र शैक्षिक संस्थालाई गाली गरेर देशको शिक्षा सुधार नहुने भन्दै शैक्षिक सुधारका लागि आवश्यक नीति निर्माण गर्नुपर्ने उनको भनाइ छ।
मन्त्री पौडेलले नेपालको शिक्षा प्रणाली राम्रो छैन भनेर प्रचार नगर्न पनि आग्रह गरे। उनले नेपालको शिक्षा गुणस्तर छैन भन्ने कुराको अन्त्य हुनुपर्ने बताए। इच्छाशक्ति भए सबै ठाउँमा शैक्षिक गुणस्तरको सुधार गर्न र विद्यार्थीलाई सक्षम बनाउन सकिने उल्लेख गरे।
मन्त्री पौडेलले शिक्षा सेवाको क्षेत्र भएकोले सेवा सुविधा पाइनँ भनेर पढाउन छोडेर आन्दोलन गर्न जान नमिल्ने बताए। उनले देशमा विद्यार्थी केन्द्रित, सक्षम बनाउने गुणस्तरीय शिक्षाको आवश्यक रहेको बताए।
उनले बाहिरबाट एसईईको नतिजा पोजेटिभ देखिए पनि भित्रि पाटोबाट हेर्दा सन्तुष्ट हुने ठाउँ नरहेको दाबी गरे। मन्त्री पौडेलले नेपालमा शिक्षाको लगानी कम नरहेको भन्दै विद्यार्थीलाई राम्रो शिक्षा दिन विद्यालय शिक्षा नै सुधार गर्नुपर्ने बताए।
पछिल्लो एसईईको नतिजाले केही कुरामा सुधार गर्न, सिक्न र सच्याउन संकेत दिएको उनले बताए। उनले भने, ‘नेपालको शिक्षा साँच्चै सुधार्ने नै हो। साँच्चै शिक्षा सुधार्नको निम्ति मन्त्रालयले नीतिगत रुपमा अघि बढाउने कुरा सुझाव लिएर अघि बढ्न तयार छ।
विभिन्न कारण देखाएर समयमै परीक्षा नलिने र नतिजा प्रकाशित नगर्ने हो भने बेथितिमा शिक्षा प्रणाली जान्छ। देशभरका शिक्षकलाई गाली गरेर शिक्षाको सुधार हुँदैन। उहाँहरुलाई तालिम दिने हो।
नेपालको शिक्षा खत्तम छ भनेर आफै प्रचार नगरौँ। आफैले पढाएका छौँ, आफै विद्यालयमा छौँ, आफैँ व्यवस्थापन समितिमा छौँ। हाम्रै छोराछोरी पढ्ने हुन् र हामी नै के भनिरहेका छौँ भने हाम्रो शिक्षा खत्तम छ, क्वालिटीको छैन, विद्यालयहरु राम्रा छैनन् भनिरहेका छौँ।
यो हामीले अन्त्य गर्नुपर्छ।’ त्यस्तै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले अहिलेसम्मको कमजोरीलाई मूल्यांकन गरेर शैक्षिक गुणस्तरका लागि अघि बढ्ने दिशामा बोर्ड रहेको बताए।
उनले यसवर्षको एसईईको परीक्षामा गणित विषयमा विद्यार्थीहरुको नतिजा कम आएको र धेरै अनुत्तिर्ण भएको भन्ने कुरा सत्य रहेको भन्दै यसको बारेमा विश्लेषण गर्ने बेला भएको बताए।

प्रतिक्रिया दिनुहोस्