काठमाडौं – डिभिजन वन कार्यालय सुर्खेतको हिरासतमै एक जनाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–१३ का ५८ वर्षीय धनीराम लामिछाने बिहीबार बेलुका मृत भेटिएका हुन् ।
सोही घटनालाई लिएर मृतकका आफन्तले सहायक वन अधिकृतसहित कार्यालयकै चार कर्मचारीविरुद्ध किटानी जाहेरी दिएका छन् । मृतकका आफन्तले शुक्रबार बेलुका सहायक वन अधिकृत कृष्णराम धिताल, फरेष्टर सन्तोष खत्री, वन रक्षक पियुसराज तिवारी र सुरेन्द्र राजनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका हुन् ।
लेकवेशी नगरपालिका–१० घर भएका लामिछाने हाल वीरेन्द्रनगरमा बस्दै आएका थिए । वनसम्बन्धी मुद्दामा पक्राउ परेका उनको बिहीबार बेलुका मृत्युभएपछि आफन्तले कार्यालयका कर्मचारीको कुटपिटबाट मृत्यु भएको आरोप लगाउँदै कारबाहीका लागी किटानी जाहेरी दिएका हुन् ।
लामिछाने दम्पतीलाई मदन भण्डारी राजमार्गमा टाचा लगाएको सालको रुख काटेको आरोपमा वनका कर्मचारीले पक्राउ गरेका थिए । सुरुमा लामिछानेकी श्रीमतीलाई पक्राउ गरी वन कार्यालय लगिएको थियो भने पछि धनीरामलाई पक्राउ गरिएको डिभिजन वन कार्यालयका प्रमुख मुनबहादुर रावतले बताए ।
‘उहाँलाई हामीले कार्यालयको हिरासतमा राखेका थियो । पछि झुन्डिएको अवस्थामा फेला गर्नुभएको हो’ प्रमुख रावतले भने । उता, आफन्तले भने पक्राउ गरी कुटपिटबाट मृत्यु भएपछि कर्मचारीले कोठामा झुन्ड्याएर राखेको आरोप लगाएका छन् ।
मृतक लामिछानेका भाइ रामप्रसाद लामिछानेले भने वनका कर्मचारीको कुटपिटबाट मृत्यु भएपछि आत्महत्या देखाउन डोरीले झुण्ड्याइएको आरोप लगाए । ‘कुटपिटमा संलग्न कर्मचारीलाई पक्राउ नगरिएसम्म शव बुझ्दैनौं ।
घटनाको मुचुल्का लगायत प्रक्रियामा पनि सहभागी हुनेछौनौं,’ उनले भने । किटानी जाहेरी दिइएका सहायक वन अधिकृत वाहेक अन्य ३ जना प्रहरी सम्पर्कमा आएपछि नियन्त्रणमा लिइएको छ । सहायक वन अधिकृत पनि साँझसम्म प्रहरी सम्पर्कमा आइसक्ने डिवजन वन कार्यालयले जनाएको छ ।
घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने माग राख्दै आफन्तहरूले वीरेन्द्रनगरस्थित डिभिजन वन कार्यालय परिसरमा आन्दोलन गरिरहेका छन् । घटनाबारे अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी सुरज कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्