प्रशासन र नगरपालिकाको कमजोरीले सयौंको नागरिकतामा त्रुटि

दाङ समाचार
दाङ समाचार ५ भाद्र २०७९, आईतवार
3 Min Read
Aa

काठमाडौं – कालीकोट जिल्ला प्रशासन कार्यालय र तिलागुफा नगरपालिकाको कमजोरीका कारण दुई हजारभन्दा बढीको नागरिकताको प्रमाणपत्रमा त्रुटि भएको पाइएको छ । विसं २०७४ वैशाख १ गतेदेखिका नागरिकता बाहक तिलागुफाका नागरिकको नेपाली नागरिकता एउटै भए पनि अङ्ग्रेजी अनुवादमा भने त्रुटि पाइएको हो ।

नगरपालिकाले जन्म, विवाह, मृत्युदर्ता, नाता प्रमाणित, नागरिकता बनाउनेलगायत अन्य सबै कामका लागि सेवाग्रहीलाई सिफारिस लेटरप्याडमा एउटा र प्रशासनले दिने नागरिकताको अङ्ग्रेजी भाषामा अर्को अक्षर हुँदा सेवाग्रहीलाई सरकारी कामकाज गर्न समस्या भएको हो ।

नगरपालिकाले २०७४ वैशाख महिनादेखि सेवाग्रहीलाई दिएका हरेक सिफारिस कागजपत्रमा तिलागुफाको ‘फा’ अक्षरको अङ्ग्रेजीमा ‘पिएचए’ छ तर स्थानीय प्रशासनले दिएको नागरिकतामा ‘एफए’ भएर फरक पर्दा सेवाग्राही समस्यामा परेका हुन् ।

उक्त नगरपालिकाको वडा नं ३स्थित कालीकोट फोइमहादेव गाउँका दीक्षा हमालले नागरिकता र शैक्षिक तथा अन्य महत्वपूर्ण कागजमा अक्षर फरक पर्दा समस्या भएको बताइन् । ‘राहदानी विभागमा पासपोर्ट बनाउँदा नगरपालिकाले दिएको कागजपत्र र मेरो शैक्षिक प्रमाणपत्रअनुसार ‘पिएचए’ नै आधिकारिक हुन्छ भनेर उल्लेख गर्यो’, हमालले भनिन्, ‘यता नागरिकताको अंग्रेजी भर्सनमा ‘एफए’ छ ।

’ काठमाडौंबाट कालीकोट पुगी साउन ९ गते नागरिकता बनाएर फर्केको बताउँदै उनले नागरिकता र अन्य कागजमा फरक परेको अक्षर सच्याउन फेरि कालीकोट पुगेको जनाइन् ।

उनले भनिन्, ‘नागरिकता बनाएको एक महिनाभित्रै नागरिकता सच्याउने प्रावधान छ भनेपछि साउन २९ गते नागरिकतामा ‘एफए’ अक्षर विस्थापन गरी ‘पिएचए’ बनाइदिन भनेर काठमाडौंबाट पुनः कालीकोट फर्केँ तर साउन ३१ गते कालीकोट प्रशासनले अक्षर नसच्याएर ‘एफए’ र ‘पिएचए’ अक्षर भएको ठाउँ (पालिका) एउटै हो भन्ने थप कागज दिएपछि काठमाडौं फर्कनुको विकल्प रहेन ।

’ प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले गृह मन्त्रालयको सफ्टवेयरले ‘एफए’ नै देखाउने भएकोले त्यही अनुसारको नागरिकता दिइएको बताए । उनले भने, ‘तिलागुफा नगरपालिकाले ‘पिएचए’ नै बनाउन भनेर प्रशासनमार्फत गृह मन्त्रालयमा निर्णय गरेर पठाएमा सफ्टवेयर त्यही बनेर आउँछ र त्यही अनुसार नागरिकता बन्छ ।

’ यो त्रुटि हुनुमा नगरपालिका मुख्य जिम्मेवार रहेको प्रजिअ शर्माले बताए । सहायक प्रमुख जिल्ला अधिकारी सरोज अधिकारीका अनुसार विसं. २०७४ वैशाख १ गतेदेखि हालसम्म ‘एफए’ अक्षरबाटै प्रदान गरिएका प्रतिलिपि र नयाँ नागरिकताको सङ्ख्या दुई हजार २२० रहेको जानकारी दिए । विसं २०७२ माघ यतादेखि भने जिल्ला प्रशासनले तिलागुफाका दुई हजार ७३५ जनालाई नागरिकता प्रदान गरेको उनले बताए ।

हमालका बुबा चित्रबहादुर हमालले यत्रो सङ्ख्यामा नागरिकता बनाउँदासमेत ध्यान नदिनु स्थानीय प्रशासन र नगरपालिका दुवैको लापरबाही भएको बताए । ‘आधिकारिक निकायले लामो समयदेखि गरेको त्रुटिले धेरैलाई समस्या भएको छ’, उनले भने, ‘यसले गर्दा हामीले भौतिक दुःखका साथै बिना कारण दोब्बर पैसा खर्च गर्नुपरेको छ ।

ती निकायको बेलैमा ध्यान जाओस् ।’ यता नगर प्रमुख शङ्करप्रसाद उपाध्यायले पहिलेका पदाधिकारीले त्यसमा ध्यान नदिएकाले यो समस्या आएको बताए । उनले आइतबार कार्यपालिकाको बैठक बसी ‘एफए’ अंग्रेजी अक्षर हटाएर ‘पिएचए’ कायम हुनुपर्ने निर्णयको प्रति संलग्न राखी गृह मन्त्रालयलाई अनुरोध पत्र पठाउने बताए ।

प्रतिक्रिया दिनुहोस्