आमासँग साम्राज्ञीको तीज गीतमा टिकटक

दाङ समाचार
दाङ समाचार ६ भाद्र २०७९, सोमबार
3 Min Read
Aa

काठमाण्डौ – अभिनेत्री साम्राज्ञी आरएल शाहको फिल्मी करिअर सुखद् नै मान्न सकिन्छ । फिल्म ‘ड्रिम्स’बाट सानदार डेब्यू गरेकी उनको दोस्रो फिल्म ‘ए मेरो हजुर २’ पनि सफल रह्यो । तेस्रो फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ले पनि उनलाई निराश बनाएन । यी तीन फिल्मबाट आफ्नै काँधमा फिल्म बोक्न सक्ने नायिकाको रुपमा स्थापित गरेकी उनले त्यसपछि भने सफलताको सुःख पाउन सकेकी छैनन् ।

यो बीचमा ‘कायरा’, ‘मारुनी’ र ‘रातो टीका निधारमा’ फिल्म चलेनन् । तर, यसले उनको करिअरमा उत्ति असर गरेको देखिएको छैन । लगातार फिल्म साइन गरिरहनुले पनि उनीप्रति निर्माता तथा निर्देशकको विश्वास अझै कायम रहेको देखिन्छ । लकडाउनको समयमा ‘तिम्रो मेरो साथ’ र ‘ह्यारीकी प्यारी’को छायांकन सकेकी उनले हालै ‘लण्डन टू पेरिस’को पनि छायांकन पूरा गरेकी छन् ।

अब उनको पाइपलाइनमा मिलन चाम्स र प्रवेश पौडेलको दुई फिल्म छ । उनलाई फिल्म साइन गराउन अन्य मेकरहरु पनि स्क्रिप्ट बोकेर दौडधुप गरिरहेका छन् । यसरी हेर्दा साम्राज्ञीलाई काम र दाम दुवैको खाँचो देखिन्न । पछिल्लो समय व्यक्तिगत जीवनका कारण चर्चा र विवादमा आउने गरेकी उनलाई आमा नेहा आरएल शाहले हरेक परिस्थितिमा साथ र सहयोग गर्दै आएकी छन् ।

केही समय अगाडिसम्म साम्राज्ञीको फिल्मको सेड्युल मिलाउनदेखि पारिश्रमिकको डिलसम्म नेहा स्वयंले गर्थिन् । तर, अचेल यी सबै कुरा साम्राज्ञी आफैंले सम्हाल्दै आएकी छन् । साम्राज्ञीको आमा प्रेम उदाहरणीय छ । उनी सार्वजनिक कार्यक्रममा आमाको साथ विना कमै पुग्छिन् । उनीहरुको सम्बन्ध आमा-छोरीको भन्दा पनि साथीको जस्तो देखिने गरेको छ । नेहा गायिका समेत हुन् ।

नेहा सामाजिक सञ्जालमा सक्रिय छिन् । अचेल उनको बढीजसो समय टिकटकमा वित्ने गरेको छ । हालै उनले छोरी साम्राज्ञीसँग एक तीज गीतमा नाचेको भिडियो टिकटक एकाउन्टमा राखेकी छन् । फिल्म ‘राधा’को ‘पाउमा पाउजु’ गीतमा आमा-छोरी आ-आफ्नै शैलीमा नाच्दै देखिएका छन् । भिडियोलाई साढे ४ लाख बढीले हेरेका छन् भने साढे १९ हजार बढी लाइक्स मिलेको छ ।

भिडियोको कमेन्टमा कतिले साम्राज्ञीको नृत्य शैलीको प्रशंसा गरेका छन् भने कतिले छोरीभन्दा आमा राम्री भन्दै प्रशंसाको पूल बाँधेका छन् । नेहाले यसअघि पनि साम्राज्ञीसँग केही टिकटक भिडियो बनाएकी छन् । साम्राज्ञीको अनुहारले नेहाको टिकटक फलोअर्स बढिरहेको छ । हुनत, साम्राज्ञी पनि टिकटकमा सक्रिय छिन् । उनको टिकटकमा १ लाख २० हजार बढी फलोअर्स छ । फिल्मीखबरबाट साभार

प्रतिक्रिया दिनुहोस्