नक्खु कारागारबाट एक कैदी फरार

दाङ समाचार
दाङ समाचार ८ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं– कर्तव्य ज्यानको कसुरमा ललितपुरस्थित नख्खु कारागारमा कैद भुक्तान गरिरहेका एक कैदी फरार भएका छन्।

फरार हुनेमा रामेछाप घर भएका ३८ वर्षीय भोला बुढाथोकी रहेको कारागार कार्यालय ललितपुरका जेलर सुवासकुमार लामिछानेले बताए। बिरामी भएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पताल (टिचिङ) लगिएकोमा उनी अस्पतालबाटै फरार भएका हुन्।

कारागार कार्यालय ललितपुरका अनुसार बिरामी भएपछि दुई जना कैदीलाई वीर अस्पताल लगाइएको थियो भने बुढाथोकीलाई भने टिचिङ लगिएको थियो। सो क्रममा उनी एक हातमा हत्कडी नै भएको अवस्थामा फरार भएका हुन्।

उनी २०७२ सालमा रामेछाप कारागारबाट नख्खु कारागार आइपुगेका थिए।

यसअघि पनि उनी आँखाको बिरामी भन्दै पटकपटक अस्पताल गइरहन्थे। बुधबार आँखामा झुसिल किरा बिझेर समस्या भयो भनेपछि अस्पताल पठाइएको थियो। सोही क्रममा उनी फरार भएका हुन्।

२० वर्ष कैद सजाय सुनाइएका बुढाथोकी १० वर्ष कैद बसिसकेका व्यक्ति भएको लामिछानेले बताए।

प्रतिक्रिया दिनुहोस्