७८ लाख रुपैयाँ घुस लिने अख्तियारका पूर्वआयुक्त पाठकविरुद्धको मुद्दाको सुनुवाइ अघि बढ्यो

दाङ समाचार
दाङ समाचार १० भाद्र २०७९, शुक्रबार
2 Min Read
Aa

काठमाडौं – विशेष अदालतले घुसकाण्डमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ सुरु गरेको छ ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले शुक्रबार सुरु भएको मुद्दालाई हेर्दाहेर्दैमा राख्ने आदेश गरेको हो । अब मुद्दाको निरन्तर सुनुवाइ हुनेछ ।

अख्तियारले १२ चैत २०७५ मा आफूकहाँ विचाराधीन एक इञ्जिनियरिङ कलेजको अनियमितता सम्बन्धी फाइल मिलाउन ७८ लाख रुपैयाँ घुस खाएको आरोपमा भ्रष्टाचारमुद्दा दायर गरेको थियो ।

आयुक्त पाठकका साथै उनलाई घुस खुवाउने नेपाल इञ्जिनियरिङ कलेजका पूर्व–अध्यक्ष लम्बोदर न्यौपानेलाई अख्तियारले ७८ लाख रुपैयाँ विगो मागदावी गरी मुद्दा दायर गरेको थियो ।

आयुक्त पाठकमाथि अख्तियारमा विचाराधीन उजुरी मिलाइदिने भनी पदीय आचरण विपरीत काम गरेको आरोप छ । आरोपपत्रमा अख्तियारले पाठकमाथि ११ वर्ष कैद सजाय हुनुपर्ने मागदावी गरेको थियो ।

भ्रष्टाचार निवारण ऐनको दफा ३ अनुसार, ५० लाखदेखि एक करोड रुपैयाँ घुस लिने÷दिने व्यक्तिलाई ६ देखि ८ वर्षसम्म कैद सजाय हुनेछ । विशिष्ट श्रेणीको कर्मचारी भ्रष्टाचारमा संलग्न भएको भेटिए थप ३ वर्ष कैद हुने व्यवस्था छ ।

सो व्यवस्था अनुसार पाठकमाथि ११ वर्षसम्म हुने भनी अख्तियारको मागदावी थियो । लम्बोदरसँग रकम लिएर पाठकलाई घुस बुझाएका इञ्जिनियर ज्ञानेन्द्र झालाई अख्तियारले अनुसन्धानमा सहयोग गरेको भन्दै मुद्दा नचलाउने निर्णय गरेको थियो ।

भिडियो खिच्ने ध्वजमान मोक्तानको हकमा पनि अख्तियारले मुद्दा चलाएको छैन । नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने विभिन्न अनियमिततामा मुछिएका थिए ।

कलेजको फाइल अख्तियारमा अनुसन्धान हुँदै थियो । त्यसक्रममा न्यौपानेले आफूलाई जोगाइदिन अनुरोध गर्दै पाठकलाई एकपटक ४० र अर्कोपटक ३८ गरी ७८ लाख रुपैयाँ घुस बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्