दाङमा मिटरव्याजी बिरुद्द ४७ जनाको उजुरी

दाङ समाचार
दाङ समाचार १० भाद्र २०७९, शुक्रबार
2 Min Read
Aa

दाङ – केहि समय यता देशैभर मिटरव्याजीको घटना सार्वजनिक हुँदै गर्दा दाङमा पनि यो घटनाका पिडितहरु राज्यको सम्पर्कमा आउन थालेका छन् । सरकारले मिटर व्याज पीडितलाई निवेदन दिन सार्वजनिक सुचना निकालेपछि दाङमा उजुरी दर्ता गर्नेको संख्या बढ्दै गएको हो ।

दुई हप्ताको अवधिमा जिल्लामा ४७ जना मिटर व्याजी पीडितले उजुरी दर्ता गराएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । उजुरीमा उनिहरुले मासिक १३ देखि २० प्रतिशतसम्म व्याज बुझाउने गरेको देखिएको छ । उनिहरुले मोटो व्याजदरमा ऋण ९२ लाखसम्म साँवा लिने गरेको देखिएको जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए ।

मोटो व्याजमा ऋण लिने र समयमै बुझाउन नसकेपछि घरबास जाने अवस्था आएपछि पीडितलाई उजुरी दिन सरकारले गत साउन २८ गते सार्वजनिक सुचना मार्फत नै निवेदन दिन आग्रह गरेको छ ।

दाङका प्रमुख जिल्ला अधिकारी रेग्मीका अनुशार जिल्लामा ४७ जना ऋणीले ६ करोड ७ लाखसम्म महंगो व्याज बुझाएको देखिएको छ । मिटर व्याज पीडितमा सबैभन्दा धेरै घोराही उपमहानगरपालिका रहेका छन् । घोराहीका ३४ जनाले जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गरेका छन् । यस्तै राप्ती गाउँपालिका ६, तुलसीपुर र गढवाका ३÷३ र राजपुरका १ जनाले उजुरी दर्ता गराएका छन् ।

मिटर व्याजमा ऋण लिनेमा सबैभन्दा बढी महिला रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिए । उनका अनुसार मोटो व्याजमा ऋण लिनेमा महिला ९५ प्रतिशत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्