प्रहरीले बरामद गरेको ९०० किलो चिनी जिल्ला प्रहरी कार्यालय कैलालीबाट गायब

दाङ समाचार
दाङ समाचार १४ भाद्र २०७९, मंगलवार
3 Min Read
Aa

काठमाण्डौ – अवैध रुपमा भारतबाट भित्राइएको भन्दै बरामद गरिएको ९०० किलो चिनी जिल्ला प्रहरी कार्यालय कैलालीबाट गायब भएको छ ।

रातभर जिल्ला प्रहरी कार्यालय परिसरमा राखिएको चिनी बिहानपख नभेटिएको र भन्सारमा बुझाइएको रेकर्ड पनि नभएकाले प्रहरीले तस्करलाई नै फिर्ता गरिदिएको आरोप लागेको छ ।

भदौ ८ गते राति करीब साढे ११ बजेको समयमा भारतबाट अवैध रुपमा अटो रिक्सामा लोड गरेर ल्याउँदै गरेको अवस्थामा प्रहरीले ५० किलो तौलका १८ बोरा चिनी प्रहरी नायब निरीक्षक (सई) मदन धामी नेतृत्वको टोलीले बरामद गरेको थियो ।

अटो रिक्सा चालक धनगढी उपमहानगरपालिका-९ बस्ने अन्दाजी २९ वर्षीय ठकुल्ला थरका एक युवकलाई पनि नियन्त्रणमा लिएर चिनी जिल्ला प्रहरी कार्यालयमा पुर्‍याइएको थियो ।

चालकलाई केहीबेर राखेर छाडिए पनि चिनी र अटो रिक्सा भने रातभर प्रहरी कार्यालयमै राखिएको थियो । तर अर्को दिन बिहान हेर्दा न चिनी थियो, न अटो रिक्सा । एकजना प्रहरी अधिकृतले भने, ‘उज्यालो हुँदा प्रहरी कार्यालयमा न चिनी भेटियो, न अटो । अचम्म भयो ।’

रातभर प्रहरी कार्यालयमा भएको चिनी बिहान गायब भएपछि अवैध रुपमा भारतबाट चिनी ल्याउने व्यापारीलाई नै फिर्ता गरिदिएको आरोप प्रहरीमाथि लागेको छ ।

स्रोतकाअनुसार प्रहरीले बरामद गरेको चिनी भारतीय मूलका गुप्ता थरका एक जना व्यापारीको हो । सई नेतृत्वको टोलीले बरामद गरेको चिनी जिल्ला प्रहरी कार्यालयका एसपी सोमेन्द्रसिंह राठौरको निर्देशनमा उनै गुप्तालाई फिर्ता गरिएको स्रोतको दाबी छ ।

तर एसपी राठौरले ८ गते राति बरामद गरिएको चिनीको विषयमा स्पष्ट जानकारी दिएनन् । सुरुमा भन्सार बुझाइसकेको दाबी गरेका एसपी राठौरले भन्सार कार्यालयको रेकर्डमा चिनी बुझाएको देखिएको छैन नी भनेपछि उनी अलमलमा परे ।

त्यसपछि राठौरले भने, ‘…ए ! मैले नि धेरै कुरा बुझेको छैन । डीएसपी साबलाई सोधेर तपाईंलाई भन्छु है ।’ यति भन्दै उनले फोन काटे ।

यो विषयमा बुझ्न जिल्ला प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका डीएसपी वेदप्रकाश जोशीलाई सम्पर्क गर्दा उनको फोन उठेन । एसपी राठोरले पनि थप प्रतिक्रिया दिन चाहेनन् ।

डीआईजी भन्छन्- प्रहरीको कमजोरी देखिए कारबाही गर्छौं

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) मोहनकुमार आचार्यले भने कैलाली प्रहरीले अवैध चिनी बरामद गरेको विषयमा आफूलाई जानकारी नभएको तर घटनाबारे बुझेर आवश्यक छानबिन गर्ने प्रतिक्रिया दिएका छन् ।

अवैध रुपमा ल्याउँदै गरेको चिनी बरामद गरेको भए भन्सार कार्यालयमा बुझाउनुपर्ने बताउँदै उनले यदि त्यसो नगरिएको भए दोषीमाथि कारबाही गरिने बताए । ‘यो कुरा मलाई थाहा थिएन,’ डीआईजी आचार्यले अनलाइनखबरसँग भने, ‘यदि बाहिर सुनिएजस्तो प्रहरीले बरामद गरेर भन्सार नबुझाएर फेरि सम्बन्धित व्यक्तिलाई नै फिर्ता गरेको हो भने हामी छानबिन गरेर कारबाही गर्छौं ।’ अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्