राष्ट्रपतिलाई प्रचण्डले भने : नागरिकता विधेयकलाई धेरै राजनीतिकरण नगरियोस्

दाङ समाचार
दाङ समाचार १५ भाद्र २०७९, बुधबार
2 Min Read
Aa

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता सम्बन्धी समस्या समाधान गर्न विधेयक ल्याएको बताएका छन्। पार्टीका नेताहरुसहित दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका प्रचण्डले नागरिकताको समस्या हल गर्न पुरानै कुरालाई राखेर विधेयक ल्याएको बताएका थिए ।

छलफलमा सहभागी माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका अनुसार राष्ट्रपतिले नागरिकता विधेयमा आफ्नो चासोबारे कुरा राखेकी थिइन् । विशेष गरी वैवाहिक अंगीकृतलाई नागरिकता दिन समय तोक्ने विषय नराखेकोमा भण्डारीले प्रचण्डसँग असन्तुष्टि जनाएकी थिइन्।

जवाफमा प्रचण्डले आफ्नै अग्रसरतामा राज्य व्यवस्था तथा सुशासन समितिमा रहेको नागरिकता सम्बन्धी विधेयकमा वैवाहिक अंगीकृतमा ७ वर्षे प्रावधानको व्यवस्था राखिएको बताएका थिए । उक्त विधेयक अगाडि बढाउन आग्रह गर्दा पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा टेबुल नगरी पाँच महिना अड्काएको प्रचण्डको आरोप थियो ।

संसद विघटनपछि ल्याइएको अध्यादेशमा पनि वैवाहिक अंगीकृतको विषय समावेश नभएको र राष्ट्रपतिबाट उक्त अध्यादेश तत्कालै स्वीकृत गरिएको भन्दै प्रचण्डले अहिले यो विषयलाई धेरै राजनीतिकरण गर्नु उचित नहुने धारणा राखेको उनको सचिवालयले बताएको छ ।

‘हिजो ओलीजीले विधेयक पाँच महिना होल्ड गर्नुभयो, संसद विघटनपछि अध्यादेश ल्याउनुभयो,’ उनको भनाइ थियो, ‘अहिले हामीले ल्याएको विधेयकमा नयाँ कुरा के नै छ र ? यसमा बढी राजनीतिकरण गरियो । राजनीतिकरण नगरियोस् ।

’ नागरिकता सम्बन्धी केही विषयमा राष्ट्रिय सहमति गर्न बाँकी नै रहेको भन्दै प्रचण्डले हाल नागरिकताविहीन अवस्थामा रहेका जन्मसिद्ध नागरिकको सन्तानलाई नागरिकता दिन मात्र अहिले विधेयक ल्याएको बताए ।

नागरिकतामा राष्ट्रपतिको चासोको सम्बोधन राष्ट्रिय सहमतिमा नयाँ विधेयक ल्याएर गर्न सकिने प्रचण्डको भनाइ थियो । त्यस्तै प्रचण्डले संक्रमणकालीन न्याया सम्बन्धी विधेयकलाई अन्तिम रुप दिन राष्ट्रपतिसँग सहयोग समेत मागेका थिए। ‘यो पनि राजनीतिकरण हुने खतरा छ,’ प्रचण्डको भनाइ थियो, ‘यसमा राष्ट्रपतिज्यूको पनि ध्यान जाओस् ।’

प्रतिक्रिया दिनुहोस्