दाङ – तुलसीपुर उपमहानगरपालिकाले टरिगाउँ विमानस्थल (धावनमार्ग) विस्तारका लागि जनप्रतिनिधिहरुले चासो देखाएका छन । २०११ सालदेखि सञ्चालनमा आएको टरिगाउँ विमानस्थल धावनमार्गमा पटक पटक सञ्चालन हुँदै बन्द हुँदै गर्दा दाङ आसपासका यात्रु मर्कामा परेको भन्दै उनीहरुले चासो देखाएका छन ।
पछिल्लो पटक तुलसीपुर उपमहानगरपालिकाकै सक्रियतामा सञ्चालन हुँदै आएको छ । अहिले हप्तामा पाँच दिन उडान हुँदै आएको छ । सात सय ५० मिटर धावनमार्ग कालोपत्रे गरिएको छ । ३८ बिगाह क्षेत्रफल रहेको धावनमार्ग विस्तारका लागि थप ३० बिगाह जग्गा आवश्यक पर्ने प्रारम्भिक सर्वेबाट जानकारी भएको इन्जिनियर युवराज रिजालले जानकारी दिए।
टरिगाउँ विमानस्थलबाट दाङ, रोल्पा, सल्यान, प्यूठानका करिब १८ लाख नागरिकले प्रत्यक्ष लाभ लिन सक्नेछन् । संघीय सरकारले यस विमानस्थलको विस्तृत विवरण प्रतिवेदनका लागि दुई करोड बजेट विनियोजन गरेको छ ।
तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले विमानस्थलको विस्तारका लागि आवश्यक पर्ने जग्गा व्यवस्थापनका लागि पालिकाको तर्फबाट काम अघि बढाइने बताए। त्यस्तै खाल्डा पुर्ने, इन्धन डिपोसम्म पुग्ने सडक कालोपत्रे, शौचालय निर्माणको काम सुरु भैसकेको नगर प्रमुख खड्काको भनाई छ ।
त्यस्तै पूर्व नगरप्रमुख घनश्याम पाण्डेले तीन वटै जिल्लाका स्थानीय सरकारले प्रत्येक वर्ष बजेटको व्यवस्थापन गरेर अघि बढ्न आग्रह गरे ।
उपप्रमुखको संयोजकत्वमा विमानस्थल सहयोग समिति
तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीको संयोजकत्वमा टरिगाउँ विमानस्थल सहयोग समिति गठन गरिएको छ । बुधबार तुलसीपुर उपमहानगरपालिकामा आयोजित टरिगाउँ एयरपोर्ट व्यवस्थापन सम्बन्धीत कार्यक्रममा समिति गठन गरिएको हो । समितिको सदस्यहरुमा दाङ, रोल्पा, सल्यानका पालिका, तीन वटै जिल्लाका उद्योग वाणिज्य संघ,नेपाल पत्रकार महासंघ दाङ, यातायात व्यवसायी महासंघका प्रतिनिधि रहेको समिति गठन गरिएको हो ।
त्यस्तै सल्लाहकारमा तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व नगरप्रमुख,दाङ,रोल्पा,सल्यान जिल्ला समन्वय समिति,उद्योग वाणिज्य संघकातर्फबाट तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजाललाई राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्