दाङ – काठ काटेर घाटगद्धी गरेको लामो समय हुँदासम्म देउखुरीका १३ सामुदायिक वनका काठ बिक्रि हुन् सकेका छैनन् । आर्थिक वर्ष २०७२ देखि २०७६ सम्म कटान भएका २० हजार ८ सय ८० क्युफिट विभिन्न जातका गोलिया काठ र ४२ चट्टा दाउरा सामुदायिकका घाटगद्धीमै साढे गलेको अवस्थामा रहेका छन् ।
लमही नगरपालिका–९ स्थित रहेको अमिलिया सामुदायिक वनमा ८४२.८८ क्युफिट काठ र १.५ चट्टा दाउरा, आमखोलि सामुदायिक वनमा १६३.४० क्युफिट काठ र २ चट्टा दाउरा, भीमबाँध महिला सामुदायिक वनमा १६८०.४८ क्युफिट काठ गोलिया र ३ चट्टा दाउरा, तेलिया सामुदायिक वनमा १०८३.७६ क्युफिट गोलिया काठ र ७.५ चट्टा दाउरा सडेको अवस्थामा छन ।
सोहि वडाको गायत्री सामुदायिक वनमा १२४०.७६ क्युफिट गोलिया काठ र २.७५ चट्टा दाउरा, कुन्टा महिला सामुदायिक वनमा ६७६.७५ क्युफिट गोलिया काठ र ५ चट्टा दाउरा, शिवशक्ति सामुदायिक वन तल्लो अमिलियामा दुई आर्थिक वर्ष गरि ९०६८.६८ क्युफिट गोलिया काठ र ३ चट्टा दाउरा, १९५६.२८ क्युफिट गोलिया काठ र २ चट्ट दाउरा, लमही नगरपालिका–८ स्थित रहेको शिवशक्ति बाख्रा सामुदायिक वन समुहमा ८७१.९६ क्युफिट गोलिया काठ र ०.५ चट्टा दाउरा अझैसम्म बिक्रि हुन् सकेको छैन ।
त्यस्तै राजपुर गाउँपालिकाको गंगदी सब डिभिजन वन कार्यालय अन्तर्गत रहेको बेलघारी सामुदायिक वनमा १८०७.८४ क्युफिट गोलिया काठ र १.५ चट्टा दाउरा, चिसापानी सामुदायिक वनमा ३१०४.४६ क्युफिट गोलिया काठ र ३.५ चट्टा दाउरा, बेला सब डिभिजन कार्यालय अन्तर्गत रहेको शंकर सामुदायिक वनमा १८९९.९९ क्युफिट गोलिया काठ र २.२५ चट्टा दाउरा, ज्यामिरे सामुदायिक वनमा ११०७.३४ क्युफिट गोलिया काठ र १ चट्टा दाउरा सडेको अवस्थामा रहेको डिभिजन वन कार्यालयले जनाएको छ ।
त्यस्तै गढवा गाउँपालिका अन्तर्गत रहेको सब डिभिजन कार्यालय अन्तर्गत रहेका खबरी सामुदायिक वनमा ८४५.२२ क्युफिट गोलिया काठ र १ चट्टा दाउरा, कालिका सामुदायिक वनमा १८१५.७९ क्युफिट गोलिया काठ र २ चट्टा दाउरा धमिराले खाएको अवस्थामा छन ।
सामुदायिक वन समूहहरुले आन्तरिक प्रयोजनका लागि भन्दै काठ काट्ने गरेको तर उपभोक्तामा खपत हुन् नसक्दा ति काठहरु घाटगद्दीमै अलपत्र अवस्थामा रहेको डिभिजन वन कार्यालय दाङ ( देउखुरी ) लमहीका निमित्त कार्यालय प्रमुख छोटेलाल चौधरीले बताए । एउटा आर्थिक वर्षमा काटेका काठ दाउरा बिक्रि वितरण गरेर नसक्दै फेरी अर्को वर्ष कटान गर्दा झनै समस्या थपिएको हो’– निमित्त प्रमुख चौधरीले भने ।
विभिन्न सामुदायिक वन समूह भित्र काटेका काठहरु छिटो व्यवस्थापन गर्नका लागि पुरानो काठ, दाउरा व्यवस्थापन समितिको बैठक बसेको छ । समितिका संयोजक तथा वन तथा वातावरण मन्त्रालयका सचिव उद्दव बहादुर घिमिरे सहितको बसेको बैठकले यत्तिक्कै राख्दा राज्यलाई राजश्व संकलनमा घाटा पर्ने भन्दै अब छिटो वन नियम अनुशार प्रक्रिया पुरा गरेर लिलाम बिक्रि गर्न सामुदायिक वन समुहहरुलाई निर्देशन दीई सकेको डिभिजन वन कार्यालय दाङ (देउखुरी) लमहीका रेञ्जर दिनेश डाँगीले बताए ।
वर्षौं देखि काठ अलपत्र रहेको भन्ने सामुदायिक वन र ठेकेदारहरुको गुनासोलाई मध्यनजर गर्दै वन तथा वातावरण मन्त्रालयका सचिव उद्धव बहादुर घिमिरे, प्रदेश वन निर्देशक दधिलाल कंडेल, दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुन, कोष तथा लेखा नियन्त्रक कार्यालय घोराही दाङका प्रमुख शिवप्रसाद चौधरी, डिभिजन वन कार्यालय दाङ (देउखुरी ) का प्रमुख राजु क्षेत्री सहितको टोलीले काठ राखेको घाटगद्धीको स्थलगत निरीक्षण गरेको छ ।
काठ दाउरा र जडिबुटीबाट ५८ लाख बढी राजश्व संकलन
डिभिजन वन कार्यालय दाङ (देउखुरी) लमहीले आर्थिक वर्ष २०७९÷८० मा ५८ हजार ९ सय किलो जडिबुटी निर्यात गरेको छ । साथै जडिबुटी निर्यात गरेर २ लाख ३७ हजार मात्र राजश्व संकलन गरेको कार्यालयले जनाएको छ । अघिल्लो आर्थक वर्षमा ४२ हजार ५ सय रुपैयाँ मात्र राजश्व संकलन भएको थियो । कार्यालयले निर्यात गरेको जडिबुटीको बजार मूल्य न्युनतम हुने भएका कारण राजश्व थोरै संकलन हुने गरेको कार्यालयका निमित्त प्रमुख छोटेलाल चौधरीले बताए ।
चालु आर्थिक वर्षमा गुर्जो लहरो ७ हजार ४ सय किलो, तेजपात ४१ हजार किलो, नेपाली दालचिनी सिन्कौली १ हजार ५ सय किलो, तेन्दुपात ४ हजार किलो र सालको बिउ ५ हजार किलो बिक्रि भएको प्रशासन शाखाका शाखा अधिकृत दुर्गा प्रसाद खत्रीले जानकारी दिए । खत्रीका अनुशार गुर्जो लहरो ५ रुपैयाँ प्रतिकिलो, तेजपात र नेपाली दालचिनी सिन्कौली ३ रुपैयाँ प्रतिकिलो र सालको बिउ १० रुपैयाँ प्रतिकिलोमा बिक्रि हुने गरेको छ ।
त्यस्तै आर्थिक वर्ष २०७९÷८० मा काठ बिक्रिबाट ५४ लाख ३७ हजार ६ सय ४१ रुपैयाँ र दाउरा बिक्रिबाट १ लाख २८ हजार ७ सय ९८ रुपैयाँ राजश्व संकलन भएको छ ।

प्रतिक्रिया दिनुहोस्